२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । जनप्रतिनिधीले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई आफूखुसी प्रयोग गर्न थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाए पनि जनप्रतिनिधीले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोज्दा दुवैपक्षबीच सम्बन्ध बिग्रदै गएको छ ।
त्यसको पछिल्लो उदाहरण हो, रामेछापको लिखु तामाकोशी गाउँपालिका । सो गाउँपालीका अध्यक्ष गोविन्द खड्काले गरेको अनियमितताको बिल अनुसारको भुक्तानी गर्न नमानेपछि प्रशासकीय अधिकृतलाई मार्ने धम्की दिएका थिए ।
दोस्रो काण्डमा ललितपुरको गोदावरी नगरपालिका पर्छ । सो नगरपालीकाका मेयर गजेन्द्र महर्जनले आफूले गरेको भ्रष्टाचारमा साथ नदिएपछि डेढ बर्षअघि प्रशासकीय अधिकृत टेकराज पन्थीको नेमप्लेट फाल्ने र हाजिर गर्न नदिने हुलहुज्जत गरी अपमान गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष तथा नगरपालिकाका मेयरहरूले विना शीर्षक पनि बजेटको निकास दिन दबाब दिने गरेका र प्रशासकीय अधिकृतले त्यसो गर्दा भोलि अख्तियारले समाउँछ भनेर रोक्दा द्वन्द बढ्ने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा शाखा अधिकृत, नगरपालिकामा उपसचिव र महानगरपालिकामा सहसचिव र राजधानी रहेको काठमाडौंमा विशिष्ट श्रेणीको हुन्छ । संघीय मामिला मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत गाउँपालिका वा नगरपालिकाका जनप्रतिनिधीले आफुखुसी प्रयोग गर्न खोज्ने र नमाने हाजिर नगराउने समस्या देखिएको मन्त्रालय स्रोतले बतायो ।
हाजिर गराइएका प्रशासकीय अधिकृतलाई पनि सरुवा गर्नका लागि दैनिकजसो मेयर, उपमयर, अध्यक्ष र उपाध्यक्षदेखि वडाध्यक्ष र सदस्यसम्म डेलिगेसन आउने गरेको स्रोतको दावी छ ।
‘मेयरसहितका वडाध्यक्ष र सदस्यले भनेबमोजिम सरुवा गरिएका प्रशासकीय अधिकृतको सरुवा गरिदिनुप¥यो भन्दै उपमेयरसहितका वडाध्यक्ष र सदस्यहरू मन्त्रालयमा आउने गरेका छन,’ उच्च स्रोतले भन्यो ।