माघ १२ गते नयाँ सभामुख चयन हुने, भोलि उम्मेदवारी दर्ता

 अर्थ बुलेटिन संवाददाता   ६ माघ, २०७६



काठमाडौं ।  प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी माघ १२ गते ३ बजेलाई सभामुख पदको निर्वाचनका लागि समय  निर्धारण गरिएको  हो ।  सार्वजनिक  निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि  प्रतिनिधि सभाको कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ ।  त्यसरी निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सोही दिन अर्थात माघ ७ गते २ः३० भित्र सूची प्रकाशन गरिनेछ । 

त्यस्तै माघ १२ गते प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भनि प्रस्तावक सदस्यले प्रस्ताव गर्नुपर्ने छ । त्यसमा समर्थक सदस्यले समर्थन गर्नुपर्ने छ ।

उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीका प्रसतावकहरुलाई क्रमश निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसो गर्दा पहिलो प्रस्तावकले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत हुनेछैन । साथै एकजनाको मात्रै प्रस्ताव दर्ता भएमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । 

आज उपसभामुख शिबमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको बाटो खुलेको हो । प्रतिनिधिसभाका जेष्ठ सदस्य  महन्थ ठाकुरको अध्यक्षतामा आजै  बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा ठाकुरले  प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation