सिइओको लागि लुछाचुडी, छनोट गर्न ‘सकस’भ्रमण वर्ष नै प्रभावित हुने खतरा

 अर्थ बुलेटिन संवाददाता   ८ माघ, २०७६



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छान्नै मुस्कील देखिएको छ । 

सिइओ नियुक्ति प्रक्रियामा राजनीतिक गन्धका देखिदाँ पर्यटन बोर्डले नेतृत्व कहिले पाउने भन्नेबारे अन्योलता देखिएको हो । निवर्तमान सिइओ  दीपकराज जोशीको चार वर्षे कार्यकाल सन २०१९ डिसेम्बर २३ मा सकिएसँगै नयाँ  सिइओ छनोटको प्रक्रिया सुरु भएको थियो । सीइओ बिहीन पर्यटन बोर्ड बन्दा भ्रमण वर्षलाई असर गर्न सक्ने कतिपयको चिन्ता छ । बोर्ड स्रोतले भन्यो,‘सीइओ नहुँदा दैनिक कामकाज तथा पर्यटन वर्षको प्रवद्र्धनमा बाधा आइरहेको छ ।,’

पर्यटन बोर्डको सञ्चालक बोर्डले सिइओ नियुक्तिका लागि गठन गरेको उपसमितिले नयाँ सिइओ छनोट प्रकिया अन्तिम चरणमा पुर्याएको थियो । छनोट समितिले शुक्रबार सिइओका लागि तीनजनाको नाम पर्यटन बोर्डको सञ्चालक समितिसमक्ष सिफारिस गरेको थियो ।छनोट उपसमितिले सिफारिस गरेको नाममा नेकपा निकट व्यसायी तथा भिजिट नेपाल सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठको नाम नपरेपछि छनोट प्रक्रिया अन्योलमा परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य तथा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई कार्यविधि भन्दा बाहिर गएर पाँच जनाको नाम राख्नबाट  सिइओ छनोट गर्न निर्देशन दिएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको निर्देशनपछि सचिव अधिकारीले सञ्चालक बोर्ड समितिको बैठक अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेका छन्। पर्यटन बोर्डको नयाँ सिइओ नियुक्तिका लागि छनोट उपसमितिले सूचना प्रकाशन गर्दै आवेदन माग गरेको थियो। आवेदनमा १७ जनाले निवेदन दिएका थिए ।

२०७६ मंसिर १८ गते पहिलोपटक २१ दिनको समय दिएर माग गरिएको आवेदनमा परेका १७ जना उम्मेद्वारमध्येबाट ९ जनाको नाम ‘सर्टलिस्ट’ भएको थियो । सर्टलिस्ट भएका मध्येबाट तीन जनाको नाम सिफारिस भएको थियो। माघ २ र ३ गते उम्मेदवारको लिखित तथा मौखिक अन्तर्वार्ता भएको थियो ।

छनोट समितिले धनञ्जय रेग्मी, हिक्मत सिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफारिस गरेको थियो। तर, बच्चुनारायण श्रेष्ठको नाम नपरेपछि प्रधानमन्त्रीले नयाँ प्रक्रियाबाट अघि बढ्न निर्देशन दिएका थिए । उनले जसरी पनि श्रेष्ठको नाम राखेर नयाँ नाम सिफारिस गर्न भनेपछि थप अन्योलता बढेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation