सनराइज बैंकले सिर्जना फाईनान्सलाई प्राप्ती गर्ने सहमतिमा हस्ताक्षर

 अर्थ बुलेटिन संवाददाता   १० माघ, २०७६



काठमाडौं । सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरेको छ । बुधबार भएको सो सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विशेषज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल हुनेछ ।

छलफल पश्चात सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंकको शेयर दिईन जानकारी बैकले दिएको छ ।  

बैंकको देशभर १ सय ३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर रहेको छ भने सिर्जना फाइनान्सको बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा रहेको छ ।

गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब रु. ८५ अर्ब, कर्जा लगानी करिब रु.७८ अर्ब रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशः करिब ७ अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ ।  प्राप्ति पश्चात बैंकको पँहुच तथा व्यवसाय क्षमतामा विस्तार हुने बिश्वास बैंकले लिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation