२३ माघ, २०८१ | 05 Feb, 2025
केश १ः
मिति २०७६ माघ ५ गते प्रभु बैङकको रु १०५,०००।०० चेक हिमालय बैङकमा विहान करिव १०.३० वजेतिर जम्मा गरे । दिउँसो त्यस्तै करिब ४ बजेतिर सोही चेकको रकम काटिएको भनेर प्रभु बैङकवाट म्यासेज आयो ।
अनि मैले साथीलाई फोन गरे र भने मेरो खातावाट रकम काटिसक्यो अब तपाई पैसा निकाल्न जादाँ हुन्छ । त्यस दिन त समय भएन त्यसैले भोलिपल्ट करीब दिनको १ वजे हिमालय बैङकमा पुगेर चेक साट्न खोज्दा खातामा पैसाछैन तत्काल झोक्किदै उनले फोन गरे अनि मैले बैङकमा फोन गरेर सोधिखोजी गर्दा बल्ल आज हिमालय बैङकमा (खातामा रकम काटिएको वा चेक जम्मा गरेको भोलिपल्ट) चेक पोस्टीङ प्रक्रिया हुदै रहेछ ।
त्यसको भोलिपल्ट ३ बजेको नियमित कारोवार अवधि सकिएपछि बल्ल चेक क्लियर हुने गरी क्यूमा रहेछ । मेरो रु १,०५,०००।०० एक दिन पुरै बैङकको प्रक्रियामानै हरायो ।
पाठक १
केश २ः
मिति २०७६ पौष ५ गते कुमारी बैङकको मेरो खातावाट एनआइसी एसीया बैङको आफ्नै लोन खातामा ब्याज भुक्तानीका लागि चेक जम्मा गरे । विहान १० बजेनै जम्मा गरेको चेकको रकम काटिएको म्यासेज करिब १२ बजेतिर नै आयो । तर एनआएसीमा भने मेरो रकम बेलुका करिव ५ बजेतिर मात्रै पोस्टिङ भयो । खातावाट रकम काटिसकेपछि १ दिन दिनभरी मेरो खाताको रकम प्रक्रियामा हरायो ?
पाठक २
यी त प्रतिनिधि घटनाहरुमात्रै हुन् । यदी तपाई पनि खातामा चेक जम्मा गर्दै हुनुहुन्छ भने विचार गर्नुहोस्, तपाईले चेक भुक्तान गरेको खातावाट रकम कसरी र कति समयमा अर्को खातामा ट्रान्सफर हुन्छ ?
अनामनगर बस्ने न्यू आइटी सोलुसन प्रालिका संचालक चन्द्र न्यौपाने आफूले चेक क्लियरिङ् गर्दा बारम्बार यस्तै प्रकृतिको समस्या भोग्नुपरेको बताउछन् ।
‘बैंकलाई सोध्यो सिस्टमा समस्याका कारण ढिलाइ भएको हो, तपाईको छिट्टै क्लियरिङ हुन्छ भन्छ तर कतिपय बेला त दुई दिन नै लाग्ने गरेको छ,’ उनले भने ।
तर बैकर्सहरु यो मान्न तयार छैनन् । प्रभु बैंकमा कार्यरत ब्रान्च म्यानेजर इश्वरी श्रेष्ठ भन्छन्, ‘बैंकको लापरबाही भन्दा पनि राष्ट्र बैंकबाट हुने ढिलाइ प्रमुख कारक हो ।’ उनको सुझाव छ, राष्ट्र बैंकबाट क्लियरिङको पाटोलाई सहज पारिनुपर्छ ।
चेक जम्मा गरेपछि सम्वन्धित बैङकको चेक हो भने तत्कालै खातामा ट्रान्सफर भई हाल्छ । यदी फरक बैङकको चेक हो भने त्यसको लागि बैङकको प्रक्रिया छ । यो प्रक्रियामा ‘नर्मल’ मा चेक डिपोजीट गरिएको छ भने सोहि दिन साँझसम्म वा भोलिपल्टसम्ममा क्लियर हुन्छ । तर, ‘एक्प्रेस’ मा डिपोजीट गरिएको भए सोही दिननै रकम निकाल्न सक्ने गरी खातामा पैसा ट्रान्सफर हुन्छ । यो सामान्य प्रक्रियानै हो । यदी कहिलेकाँही सो भन्दा लामो समय लागेको खण्डमा भने यो यसका वारेमा तत्काल ग्राहकले बैकमा समन्वय गर्नु राम्रो हुन्छ ।
के हो त चेक क्लियरिङको प्रक्रिया ?
कुनै पनि बैंकमा गएर क्लियरिङका लागि भौचर भर्नुपर्ने हुन्छ । बिहान १२ बजे भित्र नै बैंकमा क्लियरिङका लागि भौचर भरेको भए एकै दिनमा हुन्छ, होइन भने अर्को दिन लाग्न सक्छ ।
क्लिरिङ गर्दा सामान्यत ‘नर्मल’ र ‘एक्प्रेस’ गरी २ प्रकारले गर्न सकिन्छ ।
नर्मल क्लियरिङ
नर्मलमा क्लियरिङ गर्दा ग्राहकलाई अतिरिक्त चार्ज लाग्दैन भने विहान पहिलो चरणमानै कतिपय बैङकमा विहान ११ बजे भित्रनै भौचर र चेक बुझाएको खण्डमा साँझसम्म क्लियरिङ हुनुपर्दछ । अन्यथा चेक क्लियरिङ हुन भोलिपल्टसम्म लाग्न सक्दछ । सामान्यतय ग्राहकलाई कुनै हतारो नभएका वेलामा नर्मल क्लियरिङमा चेक जम्मा गर्ने गरिन्छ । यस्ता चेकहरु क्लियरिङ गर्नका लागि बैङकहरुले हतारो गर्दैनन् र ग्राहकलाई पनि हतारो भएको हुदैन ।
एक्प्रेस
एक्प्रेस गर्दा एक सय रुपैया चार्ज लाग्छ । १०ः५० बजे भित्रै क्लियरिङको भौचर र चेक बुझाइयो भने ढिलोमा १ बजे सम्ममा चेक क्लिरिङ हुनुपर्दछ । क्लियरिङका लागि राष्ट्र बैंकमा भौचर पठाएर उसले स्वीकृति दिएपछि मात्रै क्लिरिङ हुने गर्छ । तर केहि वाणिज्य बैङकहरुले रिक्समानै भएपनि ग्राहकलाई छिटो सेवा दिनका लागि चेक क्लियर गर्ने गरेको बैङर्सहरु बताउछन् । अतिरिक्त रकम तिरेर एक्सप्रेसमा चेक डिपोजिट गर्नुभनेको ग्राहकलाई तत्कालै रकमको आवश्यकता पर्ने हो भन्ने सहजै बुझिन्छ ।
सामान्यतया बैंकहरुले रकम होल्ड गर्न मिल्दैन । प्राविधिक समस्या आयो भने कहिलेकाँही बैंकको सिस्टम खराबी आउँदा क्लियरिङमा समस्या आउने गरेको बैंकर्सहरु बताउछन् ।
२ लाख सम्मको चेक क्लियरिङ गर्दा नेपाल क्लिरिङ हाउसबाटै बैंकहरुले गर्न सक्छन् भने त्यसभन्दा माथी आरटिजिएस अर्थात तत्कालै भुक्तानी प्रणालीबाट बैंकहरुले राष्ट्र बैंकहरुको स्वीकृतिमा क्लिरिङ गर्न सक्छन् ।
चेक ‘रिटर्न’
सामान्यतय हस्ताक्षर नमिलेमा, खातामा प्रर्याप्त रकम नभएमा वा कुनै केरमेट भएमा चेक फिर्ता (रिर्टर्न) हुने गर्दछ ।
चेक फिर्ता (रिर्टर्न) धेरैजसो नाम चलेका र ठूला बैङकहरुवाट धेरै हुने गरेको लाजिम्टाप घर भएका देव नेपालले बताए । नेपालका अनुसार, एक्सप्रेसमा डिपोजिट गरेको चेक पटक पटक फिर्ता आउने गरेको छ ।
नेपालले आफ्नो केश सुनाउदै भने “कुनैपनि ‘मिस्टेक’ नभएको एक्सप्रेसमा विहान १० बजेनै जम्मा गरेको चेक करीव २ वजेतिर बैङकवाट चेक फिर्ता भएको भनि फोन आयो । गएर चेक हेर्दा कारणमा ‘नो रिजन’ भनेको रहेछ । के हो यो भनि बैङकमा बुझ्दा हेडअफिसको सम्वन्धित चेक क्लियरीङ शाखाले १ बजे भित्र हेरेर रिप्लाई गर्नुपर्नेमा चेकको चाङ धेरै भएर पहिलो चरणमा आएका चेकहरुको ‘भेरीफाई’ गर्न नभ्याएर ‘नो रिजन’ भनि चेक फिर्ता गरेको रहेछ । सोहि चेक जस्ताको तस्तै भोलिपल्ट पुनः क्लियरिङमा पठाउदाँ चेक क्लियर भयो ।”
रकम पठाउँदा गोएमएल लागू भैसकेकाले स्रोत खुलाउनुपर्ने हुन्छ । कतिपय बेला क्लियरिङ गर्दा स्रोत नखुलाइएको हुन सक्छ त्यसबेला क्लियरिङको प्रक्रिया अघि बढ्न नसक्ने र चेक फिर्ता ‘रिटर्न’ हुने बैकर्सहरुको भनाई छ ।
चेक फिर्ता ‘रिटर्न’ का विषयमा नागरिकको सबैभन्दा धेरै बिश्वास भएको बैङक जस्तो संस्थाहरुमा लापरवाही बढ्दै जाने हो भने यसले ग्राहकको विस्वास गुम्दै जान्छ ।
समग्रमा ग्राहकले थाहा पाउनुपर्ने पाटो भनेको सम्वन्धित बैङकको चेक हो भने तत्कालै खातामा ट्रान्सफर हुन्छ, यदी फरक बैङकको चेक हो र त्यसलाई नर्मलमा जम्मा गरिएको भए धेरैमा भोलिपल्टसम्म लाग्न सक्दछ भने एक्प्रेसमा जम्मा गरिएको चेकको रकम सोहि दिन निकाल्न मिल्ने गरी खातामा आईपुग्छ ।
यो प्रक्रियामा चेक भएको बैङकले आफ्नो खातावाट रकम घटाउने र जम्मा गरेको बैङकमा सम्वन्धित खातामा रकम जम्मा गर्दा लाग्ने समयका बिचमा भएको अन्तरको विचमा रकम हराएको जस्तो देखिएतापनि यो हराएको नभईकन नियमित प्रक्रिया हो भन्ने बुझ्नुपर्दछ ।