भ्रमण वर्षमा सरकारका दुई महत्वपूर्ण निकाय नै नेतृत्वविहीन

 अर्थ बुलेटिन संवाददाता   ११ माघ, २०७६



काठमाडौं । भ्रमण वर्ष–२०२० चलिरहँदा पर्यटनसँग सम्बन्धित सरकारका दुई महत्वपूर्ण निकाय नेतृत्वबिहीन बन्न पुगेका छन् मुलुकमा भ्रमण वर्ष चलिरहँदा पर्यटन बोर्ड र नेपाल एयरलाइन्स नेतृत्व बिहीन बनेका हुन् ।

डिसेम्बर २४ मा पर्यटन बोर्डको प्रमुख कार्यकारी पद खाली भएको छ । सोही पदमा नियुक्तीका लागि वोर्डले खुला प्रतिस्पर्धाबाट छनौट गर्दै तीनजनाको नाम तय गरिसकेको छ । त्यसबाट एक जना प्रमुख कार्यकारी नियुक्त गर्नुपर्ने भएपनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

त्यस्तै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले गत साता राजिनामा दिएपछि कार्यकारी पद खाली रहेको छ । नेपाल एयरलाइन्समा महाप्रबन्धक नियुक्ती गर्न सरकारले सकिरहेको छैन ।

यसरी दुई मत्वपूर्ण निकाय नेतृत्व बिहीन बनेसँगै भ्रमण वर्ष प्रभावित हुने खतरा बढेको छ । पर्यटन व्यवसायी हरिकृष्ण शर्माले भने,‘पर्यटन प्रवद्र्धनको काम पर्यटन बोर्डले र भ्रमण वर्षमा पर्यटक ल्याउन महत्वपूर्ण भुमिका रहने वायु सेवा निगममा  नेतृत्व बिहीन हुनु दुर्भाग्य हो ।’

यसैबीच, नेपालमा कार्यरत पर्यटन व्यावसायीहरुले पर्यटनसँग सम्बन्धित सरकारी संस्थाहरुमा खाली रहनु राम्रो नभएको भन्दै तत्काल नेतृत्व ल्याउन दबाब दिन थालेका छन । व्यावसायीहरुका छाता संगठनका प्रतिनिधिहरुले हालै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमै पुगेर तत्काल नेतृत्व ल्याउन दबाब दिएका हुन् ।

करिब  एक दर्जन संस्थाका प्रतिनिधहरुले सामूहिक रुपमा मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइएको होटल एसोशिएसन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

उनका अनुसार भिजिट नेपाल २०२० मनाइरहेको अवस्थामा सरकारले पर्यटन सम्बद्ध संस्थामा नेतृत्व नहुँदा सकारात्मक सन्देश नजाउने व्यवसायीको ठहर छ । भेटको क्रममा मन्त्री योगेश भट्टराईले सकारात्मक प्रतिक्रिया दिएको व्यवसायीको भनाइ छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation