खर्च पनि गर्दैनौ, पैसा पनि चाहिन्न...विकासमा खर्च गर्न सरकारको आनाकानी, आन्तरीक ऋण शून्य !

 अर्थ बुलेटिन   १६ माघ, २०७६



काठमाडौं । बजेटमार्फत १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको सरकारले चालू वर्षको ६ महीनासम्म ऋण उठाएको छैन ।

विकासका काम तीव्र गतिमा नभएपछि सरकारलाई पैसा रकमको अभाव नहुदाँ ऋण उठाउन परेको छैन । खर्च गर्न नसकेका कारण तत्काल पैसाको आवश्यता नपरेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउछन् । 

गत वर्ष पनि सरकारले विकास खर्च गर्न नसक्दा ढिला गरी आन्तरिक ऋण उठाएको थियो । सरकारले जेठ र असारमा आएर १ खर्ब रुपैयाँ हारहारीमा मात्र आन्तरिक ऋण उठाएको थियो ।  

चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । यसको १८ प्रतिशत हारहारीमा मात्र पुँजीगत खर्च भएको छ ।

तत्काल पैसाको आवश्यकता नभएपछि आन्तरिक ऋण उठाउने तालिका समेत नबनेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । अहिले राष्ट्र बैंकले ट्रेजरी विल्सको धमाधम नविकरण मात्र गरिरहेको उनले जानकारी दिए । सरकारको ४ खर्ब ५२ अर्ब रुपैयाका सबै विल्स नविकरण भइरहेकेको छ । त्यसमा विकास ऋणपत्रको हिस्सा ठुलो भएको उनले बताए ।

गत वर्ष १ खर्ब ४५ अर्ब रुपैयाँ त्यस्तो ऋण उठाउने लक्ष्य लिएको थियो । खर्च कम भएपछि गत वर्ष सरकारले लक्ष्य भन्दा कम आन्तरिक ऋण उठाएको थियो ।

यता आन्तरिक ऋण निष्काशनका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले दुई पटक गरी ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ ।

सरकारले ट्रेजरी बिलका अतिरिक्त, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जस्ता औजार प्रयोग गरेर आन्तरिक ऋण उठाउँदै आएको छ । यो वर्ष ट्रेजरी बिल्सको नवीकरण वैदेशिक रोजगार बचतपत्र बाहेक अन्य औजार प्रयोगमा आएका छैनन् ।

चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोडको रहेको छ । सरकारले चालु आर्थिक वर्षको लागि राजश्वबाट ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख र आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रुपैयाँ उठाइने लक्ष्य राखेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation