जग्गा खरिद बिक्री बापत मलपोतलाई तिरेको राजस्व कर्मचारीको खल्तिमा (यस्तो छ, नालिबेली)

 अर्थ बुलेटिन संवाददाता   १६ माघ, २०७६



काठमाडौं । तपाईले मालपोतमा गएर तिरेको पैसा सरकारको खातामा सिधै जान्छ भन्ने तपाईलाई लाग्छ छ भने त्यो भ्रम हो । अख्तियारले नै गरेको छानविनमा त्यो पैसा मालपोतका कर्मचारीको खल्तिमा समेत पुग्ने गरेको भेटिएको छ  ।

आयोगका अनुसार मालपोत कार्यालय चाबहिलमा एक कार्यालय सहयोगीले करिब ९ करोड बराबरको रकम आफ्नो खातामा जम्मा गरेका छन् ।  अख्तियारको छानविनमा त्यस्तो भेटिएपछि आयोगले बिहीबार मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध  भ्रष्टाचार मुद्दा दायार गरेको छ ।

२०४५ कात्तिक १९ गते मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु गरेका बस्नेतले २०७५ सालसम्म आइपुग्दा ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ अवैध आर्जन गरेको आयोगले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

आयोगले बिहिबार उनीविरुद्ध विशेष अदालतमा बिगो, जरिवाना र कैदसहितको माग गर्दै  भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसरी कार्यालय सहयोगीले नै त ९ करोड भ्रष्टाचार गरे भने त्यहाँका अधिकृत स्तरका कर्मचारीले कति भ्रष्टाचार गरे भन्ने खुल्न सकेको छैन ।

बस्नेत र उनको परिवारले सेवा अवधिमा ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्र वैध स्रोतबाट आर्जन गरेको अख्तियारले दाबी गरेको छ । तर उनीविरुद्ध करिब ९ करोड भ्रष्टाचारको मुद्दा दायर गरिएकाले मालपोत भ्रष्टाचारको ‘अखडा’ भएको प्रष्टै भएको छ ।

९ करोड भ्रष्टाचार गरेको आरोप लागेका बस्नेतले श्रीमती सीता बस्नेतका नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिद गरी  ६ करोड ७४ लाख २५ हजार १ सय ४५ रुपैयाँ लुकाएका थिए ।

त्यस्तै, आमा टुकुकुमारी बस्नेतका नाममा रहेको जग्गामा घर निर्माण गर्दै ६२ लाख ९० हजार ५ सय ४८ रुपैयाँ लुकाएको आख्तियारको आरोपपत्रमा उल्लेख छ। कर्जा एवं सापटी चुक्ता प्रयोजनमा ३९ लाख ७६ हजार २ सय ९०, जीवन बिमाका विभिन्न पोलिसी खरिद गरी ५ लाख ७० हजार ४ सय ९० लुकाएको अख्तियारले उल्लेख गरेको छ ।

यसैगरी, सवारी साधन खरिदमा ३७ लाख ३१ हजार, अंशियार दाजुभाइलाई अंशबापत नगद भुक्तानीमा १५ लाख,  पुँजीगत लाभकरमा ३ लाख ४७ हजार, छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३ सय २५ रुपैयाँ अवैध रूपमा आर्जन गरेको रकम खर्च गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

बस्नेतले श्रीमती सीता बस्नेतको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा पठाई अवैध सम्पत्ति लुकाउने प्रयास गरेका थिए । यसरी पठाइएको रकम पुनः भतिजा कृपा बस्नेतलाई उपलब्ध गराई उनैका नामबाट लगानी गरिएको १ करोड र बस्नेत एवं परिवारका सदस्यका नाममा विभिन्न बैंक खातामा रहेको ५ लाख ८७ हजार १ सय ४८ अख्तियारले अनुसन्धानको क्रममा फेला पारेको छ ।

बस्नेतले सरकारी सेवा गरेको ३० वर्षको अवधिमा कुल ९ करोड ७३ लाख ३१ हजार ९ सय ८६ रुपैयाँ अवैध रूपमा आर्जन गरेका थिए । त्यसमध्ये  ७४ लाख ७३ हजार ३ सय ७३ मात्र उनको वैध आम्दानी हो । बाँकी ८ करोड ९८ लाख बराबर गैरकानुनी आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले बस्नेतसँग फेला पारेको ११ लाखसहित अन्य सम्पत्ति जफत गर्दै बिगो, सोही बराबर जरिवाना र हदैसम्मको कैद सजाय गर्न माग गरेको छ । अख्तियारले बस्नेतकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेतलाई पनि प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूलाई मतियार रुपमा भ्रष्टाचार गरेको सम्पत्ति लुकाउने कार्यमा सहयोग गरेको आरोपमा सजाय गर्न माग गरेको छ । बस्नेतले जनताले तिरेको राजश्व ठग्न नक्कली रसिद निर्माण गरेका थिए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation