मुलुकको वैदेशिक व्यापार अझै अप्ठ्यारोमा७ खर्बको आयात हुँदा नेपालबाट ५७ अर्बको मात्रै निर्यात

 अर्थ बुलेटिन संवाददाता   १९ माघ, २०७६



काठमाडौ । मुलुकको वैदेशिक व्यापार अझै पनि अप्ठ्यारोमा नै रहेको छ । सरकारी तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महीनामा ७ खर्बको आयात हुँदा नेपालबाट जम्मा ५७ अर्बको मात्रै निर्यात भएको देखिन्छ ।

भन्सार विभागले भर्खरै सार्वजनिक गरेको तथ्यांकअुनसार चालू आवको ६ महिनामा नेपालले कुल ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । उक्त रकम गत आव २०७५/०७६ को पहिलो ६ महिनाको भन्दा ४ प्रतिशतले कम हो । गत आवको साउनदेखि पुस मसान्तसम्ममा नेपालले भारत तथा तेस्रो मुलुकबाट ७ खर्ब २३ अर्ब ९३ करोड ७५ लाख १९ हजार रुपैयाँ बराबरको सामान आयात गरेको थियो ।

आयात गत वर्षको तुलनामा यसबर्ष निर्यात २६ प्रतिशतले मात्रै बढेको छ । चालू आवको साउनदेखि पुससम्ममा नेपालले ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको सामान भारत तथा तेस्रो मुलुकमा निर्यात गरेको छ ।

निर्यात रकम गत आवको सोही अवधिको भन्दा २६ दशमलव १३ प्रतिशतले बढी हो ।  गत आवको पहिलो ६ महिनामा नेपालबाट ४५ अर्ब ४१ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । यसैगरी चालू आवको पहिलो ६ महिनाको वैदेशिक व्यापार पनि २ दशमलव २६ प्रतिशतले घटेको छ । तर, गत आवको सोही अवधिको वैदेशिक व्यापार खर्ब ७ खर्ब ६९ अर्ब ३४ करोड ९९ लाख ९७ हजार रुपैयाँ थियो ।

चालू आवको पहिलो ६ महिनाको नेपालको कूल वैदेशिक व्यापार रकम ७ खर्ब ५१ अर्ब ९७ करोड ३४ लाख ७० हजार रुपैयाँ छ । चालू आवको कूल वैदेशिक व्यापार रकमको आयातको हिस्सा ९२ दशमलव ४ प्रतिशत र निर्यातको हिस्सा ७ दशमलव ६ प्रतिशत छ । तर, गत आवको सोही अवधिको वैदेशिक व्यापारमा आयातको ९४ दशमलव १ प्रतिशत र निर्यातको हिस्सा ५ दशमलव ९ प्रतिशत थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation