मेलम्ची खानेपानी आयोजना निर्माणमा सरकारी निकायबीच समन्वय भएन३० किलोमिटर पाइप फुट्दा १६ करोड रुपैयाँको क्षति

 अर्थ बुलेटिन संवाददाता   २७ माघ, २०७६



काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणमा सरकारी निकायबीच नै समन्वय नभएको पाइएको छ । आयोजना सुरु भएयतादेखि नै सरकारी निकायबिच समन्वयको अभावमा पछिल्ला समय समस्या समेत देखिन थालेको छ ।

अन्तरनिकाय संरचना निर्माण प्रकियामा सरकारी निकायबीच समन्वय नुहँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेको छ ।

मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याएपछि गरिएको सडक विस्तार र ढल खन्‍ने क्रममा नयाँबानेश्वर, कालोपुल, बागेश्‍वरी, बल्खुलगायत क्षेत्रमा करोडौं मूल्यको पाइप फुटेको हो । सरकारी निकायबीच समन्वय अभावमा ३० किलोमिटर पाइप फुट्दा १६ करोड रुपैयाँको क्षति भएको छ ।

सोमबार संसद्को विकास समितिमा यसबारे अर्थमन्त्री डा. युवराज खतिवडा आक्रोसित भए । जसले पाइप फुटाएको हो, उसैबाट क्षतिको रकम उठाउनुपर्ने उनको भनाइ थियो ।  मेलम्ची खानेपानी विकास समितिले अर्थमन्त्रालयलाई उक्त फुटेको संरचना निर्माणका लागि बजेट माग्नु अनुचित भएको उनको भनाइ छ । 

मेलम्ची विकास समितिले भने जहाँबाट लिए पनि सरकारी रकम नै चाहिने भएकाले सोझै अर्थमन्त्रालयमा माग गरिएको बतायो । तर अर्थमन्त्री डा. खतिवडाले यस विषयमा छानबिन गर्नुपर्ने अडान राखे ।  

‘हामीले पाइपका लागि पैसा निकास गरेका छौँ, उनले भने, यसरी लापरवाही गर्नेमाथि छानविन हुनु पर्छ,’ उनले भने ।  

खतिवडाले कतिपय गर्नुपर्ने काममा सहजताका लागि सार्वजनिक खरिद ऐन संशोधन गरिएको बताउँदै अरु गर्नैपर्ने कामका लागि केही नेपाल ऐन संशोधन गरेर अघि बढाउनु पर्नेमा जोड दिए । उनका अनुसार नयाँ काम गर्न स्रोतका विषयमा पहिचान गरेर अघि बढ्नुपर्नेछ ।

सडक र त्यससँग सम्बन्धित अन्य कामलाई एकीकृत रुपमा योजना कार्यन्वयन गर्ने गरी अघि बढाइएको युटिलिटी करिडोरको सन्दर्भमा बोल्दै खतिवडाले स्रोत व्यवस्थापन पनि महत्वपूर्ण रहने बताए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation