आर्मी शीर्ष स्थानमा उक्लियो

 अर्थ बुलेटिन संवाददाता   २८ माघ, २०७६



 काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् ।

 त्यसैगरी खेलको ५४औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए । जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अङ्क रहेको छ । आठ अङ्क रहेको ब्रिगेड १२औँ स्थानमा छ ।    



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation