अमेरिकामाथि नेपालको कीर्तिमानी जीत

 अर्थ बुलेटिन संवाददाता   २९ माघ, २०७६



काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जीत हासिल गरेको छ । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले दुई विकेट गुमाउँदै छैटौँ ओभरको दोस्रो बलमा पूरा ग¥यो । 

 उपकप्तान दीपेन्द्रसिंह ऐरीले नोश्तुश केन्जीको बलमा छक्का प्राहार गरी आफ्नो टोलीलाई ऐतिहासिक जीत दिलाए । दीपेन्द्रले ११ बल खेल्दै एक छक्का र दुई चौका हान्दै १५ रन बनाए । उनलाई पारस खड्काले साथ दिएका थिए । उनले १२ बल खेल्ने क्रममा एक छक्का तथा तीन चौको मद्दतमा २० रनको योगदान दिए । नेपालको ब्याटिङ शुरुआत सुखद् रहेन । दुई रनको स्कोरमा नेपालले दुई विकेट गुमायो । प्रारम्भिक ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल एक रन तथा सुवास खकुरेल रन नै नबनाइकन पवेलियन फर्किए । ज्ञानेन्द्र र सुवासको विकेट नोश्तुश केन्जीले लिएका थिए ।

 यसअघि नेपालले अमेरिकालाई ३५ रनमा समेटेर विश्व कीर्तिमान रचेको थियो । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको हो । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्काविरुद्धको खेलमा ३५ रन बनाएको थियो ।

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लेग स्पिनर सन्दिप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दिपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए । यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए । यस्तै करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे ।    
 

 आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर फिल्डिङ राजेको थियो । ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत राम्रो रहेन । रन नै बनाउन नसकेको अवस्थामा उसले पहिलो विकेट गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अमेरिकाका भरपर्दा प्रारम्भिक ब्याट्सम्यान इयान होल्याण्ड रन नबनाइकन पभेलियन फर्किए । उनलाई लेगस्पिपनर सन्दिप लामिछानेले पारस खड्काद्वारा क्याच आउट गराए । उनले मेडन ओभर फाल्दै पहिलो विकेट लिएका हुन् ।    
    
 अमेरिकाले टोलीको स्कोर २३ छँदा दोस्रो महत्वपूर्ण विकेट गुमायो । छ दशमलव एक ओभरमा प्रारम्भिक ब्याट्सम्यान जेभियर मार्शल आउट भए । सोह्र रन बनाएका उनलाई सुशन भारीले पारसदद्वारा नै क्याच आउट गराए । आठौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । दुवै विकेट सन्दिपले लिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनांक पटेललाई सन्दिपले सात दशमलव दुई ओभरमा बोल्ड गरे । उनले चार रन मात्र बनाए । सात दशमलव पाँच ओभरमा सन्दिपले निसर्ग पटेललाई व्यक्तिगत दुई रन बनाएको अवस्थामा बोल्ड गरे । 

यतिमा नै अमेरिकाको विकेट गुमाउने क्रम रोकिएन । अमेरिकाले नवौँ ओभरको तेस्रो बलमा आरेन जोन्सलाई गुमायो । उनलाई व्यक्तिगत चार रनको स्कोरमा सुशनले बोल्ड गरे । त्यो बेला अमेरिकाले २९ रन मात्र बनाएको थियो । यस्तै १०औँ ओभरको पाँचौँ बलमा अमेरिकाका तिमिल पटेल पभेलियन फर्किए । तिमिलले व्यक्तिगत एक रन मात्र बनाए । उनलाई सन्दिपले आउट गरे । एघारौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । सुशनले ११औँ ओभरको पहिलो बलमा केमरुन स्टिभेन्सनलाई पभेलियन फर्काए । सुशनले ११औँ ओभरको अन्तिम बलमा रुस्टी थेरन बोल्ड भए । अमेरिकाले ११ ओभर खेल्दा ३१ रनमा आठ खेलाडी गुमाइसकेको थियो ।    
 

अमेरिकाले १२औँ ओभरमा सन्दिपको बलमा लगातार दुई विकेट गुमायो । सन्दिपले १२औँ ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसद्वारा नै क्याच आउट गराए । सन्दिपले १२औँ ओभरको अन्तिम बलमा नोस्तुस केन्जीलाई बोल्ड गरे । अमेरिका १२ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । खेलको म्यान अफ दी म्याच सन्दिप भए । समापन समारोहमा नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, क्यान सचिव अशोकनाथ प्याकुरेललगायतले ट्रफी वितरण गरेका थिए ।    


 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation