सात महिनामा कुल व्यापार घाटा झण्डै साढे ७ खर्बव्यपार घाटाको गिरावट दर घट्यो

 अर्थ बुलेटिन संवाददाता   १३ फागुन, २०७६



काठमाडौं । सात महिनामा कुल व्यापार घाटा ७ खर्ब ३८ अर्ब रुपैंया पुगेको देखिएको छ । नेपालको कुल आयात ८ खर्ब नाघेसँगै व्यापार घाटा तथ्यांक यस्तो देखिएको हो ।   चालु आर्थिक वर्षको माघसम्म ८ खर्ब ३ अर्ब ६० करोडको आयात र ६४ अर्ब ९७ करोडको निर्यात हुँदा कुल व्यापार घाटा ७ खर्ब ३८ अर्ब रुपैंया पुगेको भन्सार  विभागको तथ्यांक छ । 

विभागकका अनुसार यो अवधिको आयात अघिल्लो वर्षको भन्दा ३.५६ प्रतिशत कम हो भने निर्यात २२.४१ प्रतिशत बढी हो । आयातमा कमी र निर्यातको वृद्धिका कारण व्यापार घाटा भने यो अवधिमा ५.३३ प्रतिशत कमी आएको हो ।

यस  अवधिमा आयात हुने मुख्य वस्तुहरुमा पेट्रलियम पदार्थ, मेसिनरी सामानहरु, फलाम र स्टिल, इलोक्ट्रोनिक सामान, सवारीसाधन, अनाज, प्लाष्टिक, मासु, तरकारी तथा दुग्ध पदार्थ, औषधि, हवाईजहाजका उपकरण, कपडा, रासायनिक मल लगायत छन् ।

त्यस्तै मुख्य रुपमा निर्यातत हुने वस्तुहरुमा बनस्पति तथा पशुजन्य तेल र बोसो, फाइबर, चिया कफी, कार्पेट, टेक्सटाइल, कपडा, कागज, यार्न लगायतका वस्तुहरु छन् ।

यो अवधिमा भारतसँग ४ खर्ब ९६ अर्ब आयात र ४५ अर्ब ४० करोड निर्यात, चीनसँग १ खर्ब ३२ अर्बको आयात र १० अर्ब ६५ करोडको निर्यात तथा इन्डोनेसियासँग २१ अर्बको आयात र १ अर्बको निर्यात भएको देखिएको छ ।

माघ महिनासम्मको व्यापार हेर्दा आयात घटेको र निर्यात बढेको देखिए पनि आयातको गिरावटको दर अघिल्लो महिनाभन्दा कम र निर्यातको वृद्धिदरु पनि अघिल्लो महिनाभन्दा कम देखिएको छ ।

पुस महिनासम्म आयात ४.०४ प्रतिशतले घटेकोमा अहिले ३.५६ प्रतिशतमा झर्नु तथा अघिल्लो महिना २६.१३ प्रतिशतको निर्यात वृद्धि २२.४१ प्रतिशतमा झर्नुले पछिल्लो महिनाको व्यापारको अवस्था भने सुधारोन्मुख रहेको देखिँदैन । यही कारण व्यपार घाटाको गिरावट दर समेत ६.०६ प्रतिशतबाट घटेर ५.३३ प्रतिशतमा सीमित भएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation