कोरोना सन्त्रास, नआत्तिउ तर सावधानी अपनाउ....कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन

 अर्थ बुलेटिन संवाददाता   १९ फागुन, २०७६



विश्वभर सन्त्रास फैलाउदै गईरहेको कोरोना भाइरस (COVID-19) वाट सुरक्षित रहनका लागि नेपाल सरकारले विभिन्न खालका सावधानीका कार्यहरु अगाडि बढाउदै गइरहेको छ । नेपाल भ्रमण वर्ष स्थगन, सातवटै प्रदेशमा विशेष चिकित्सक टोली, त्रिभुवन विमानस्थलमा सबै यात्रुहरुको परिक्षण जस्ता कार्यहरु सकारात्मक रुपमानै लिनुपर्दछ ।

यो संगैहामिले पनि सुरक्षित रहनका लागि दैनिक जिवनमा अपनाउनुपर्ने केहि सावधानीहरुः

  • हाँच्छयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानु अघि, शौचालय प्रयोग पछि, बिरामी भेटेपछि हात फोहोर भएमा वा जनावर छोउपछि अनिवार्यरुपमा हात धुने ।
  • हात सधै सफा साबुन पानीले धुने । साबुन पानी नभएमा सेनिटाइजर प्रयोग गर्ने ।
  • फोहोर हातले नाक, मुख र आँखा नछुने ।
  • हाँच्छयुँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्ने वा रुमाल प्रयोग गर्ने ।
  • रुघा खोकीको संक्रमण भएका वा श्वास प्रश्वाससम्वन्धी समस्या हुने व्यक्तिको निकटमा नवस्ने ।
  • रुघाजन्य समस्या भएमा माक्स लगाउने ।
  • रुघाजन्य संक्रमण भएमा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने ।
  • कोरोना भाइरस अति प्रभावित मुलुकहरुमा भ्रमण नगर्ने ।

कोराना भाइरसको सङ्क्रमणप्रति सचेत हुन आग्रह

पोखरा । गण्डकी प्रदेशसभाका सदस्यहरूले कोरना भाइरसको सङ्क्रमणप्रति बेलैमा सचेत बन्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको बैठकमा शून्य तथा विशेष समयमा अधिकांश सदस्यले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई उच्च जोखिममा रहेको भनिसकेको अवस्थामा सम्भाव्य जोखिमप्रति बेलैमा सचेत बन्न आग्रह गरे ।

बैठकमा प्रदेशसभा सदस्य धनमाया पोखरेलले विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा रहेको भन्दै नेपाललाई उल्लेख गरेका अवस्थामा विमानस्थलको कोरोना ‘सहायता कक्ष’ प्रभावकारी नभएको बताउनुभयो ।

विश्वव्यापी नै हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै घोषित भ्रमण वर्षका कार्यक्रम स्थगन गर्दै भाइरस र यसले पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्नेतर्फ लाग्न उहाँले सुझाव दिनुभयो ।

सदस्य मेखलाल श्रेष्ठले लम्जुङको याङ्दी खोला जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ आठ कर्मचारी विमानस्थलमा विनारोकटोक नेपाल आएर काममा लागिसकेको बताउँदै रोग फैलिसकेका अवस्थामा उनीहरूलाई क्वारेन्टाइनमा राख्नपर्ने वा नपर्नेबारे सरकार बेखबर बन्न नहुने बताउनुभयो ।

प्रदेशवासीलाई सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक सम्पूर्ण तयारी गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोना भाइरसका कारण पोखरामा ८० प्रतिशत पर्यटक घटेकाले पर्यटन व्यवसायी ठूलो मारमा परेको बताउनुभयो । दैनिक उपभोग्य सामानको मूल्य पनि आकाशिएको बताउँदै उहाँले यस्तो अवस्थामा सरकारले विशेष आर्थिक राहतका प्याकेज ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य कृष्ण थापाले गण्डकी ‘काउ फर्म रिसर्च सेन्टर’लाई रु ११ करोड शेयर खरीदका लागि लगानी गर्न लागिएको प्रति ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य आशा कोइराला, चन्द्रमोहन गौचन, राजीव पहारी, विष्णुप्रसाद लामिछाने, कृष्णबहादुर थापालगायतले समसामयिक विषयमा प्रदेशसभा एवं सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्यले यसअघिका बैठकमा उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था तथा सहकारीमन्त्री लेखबहादुर थापाले गण्डकी काउ फर्म रिसर्च सेन्टरलाई शेयर खरीदका लागि गरिएको लगानीप्रति शङ्का नगर्न आग्रह गर्नुभयो ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराउनुभयो ।

आजको बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य कृष्णचन्द्र नेपालीले वातावरण संरक्षण गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदनसहितको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।

बैठकमा सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले समितिको वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभयो । अर्को बैठक आगामी यही फागुन २८ गते बिहान ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराउनुभयो ।

 

बेलहिया नाका भएर भित्रिने पर्यटक कोरोनाबाट सुरक्षित

भैरहवा । नेपालमा पैदलमार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा राखिएको कोरोना भारइस चेक जाँच ‘हेल्थ डेस्क’मा हालसम्म एकजना पनि बिरामी भेटिएको छैन ।

दैनिक सयौँको सङ्ख्यामा आउने भारतलगायत तेस्रो मुलुकका पर्यटकहरुलाई कोरोना भाइरस जाँचका लागि राखिएको ‘हेल्थ डेस्क’मा त्यस्ता बिरामी नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि भित्रिने आशङ्काले अध्यागमन कार्यालय बेलहियाको छेउमा राखिएको पर्यटक स्वास्थ्य जाँच हेल्थ डेस्कमा कोरोना भाइरसको शङ्का लागेका बिरामी नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताउनुभयो ।

माघ १६ गतेदेखि सञ्चालनमा आएको हेल्थ डेस्कमा विशेष गरेर भारतको बाटो हुँदै आउने चिनियाँ पर्यटकलाई मुख्य रुपमा जाँच गरिएको छ भने शङ्का लागेका अन्य देशका पर्यटकलाई पनि स्वास्थ्यकर्मीले निगरानी र जाँच गर्ने गरेको जनस्वाथ्य प्रमुख गिरीले जानकारी दिनुभयो ।

यस नाका हुँदै मुख्य रुपमा भारतीय, श्रीलङ्कन, म्यान्मा, चिनियाँ र कोरियन पर्यटक आउने गरेका छन् । पर्यटक आउने सङ्ख्यामा समेत कुनै कमी नआएको अध्यागमन कार्यालय बेलहियाका अध्यागमन अधिकृत गिरीराज खनालले बताउनुभयो ।

भारतीय मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकहरु सहज रुपमा आउने गरे पनि नेपालको बाटो हुँदै भारत प्रवेशमा भने भारतीय पक्षले बन्देज लगाएको अध्यागमन कार्यालय बेलहियाले जानाकारी दिएको छ ।

अध्यागमन कार्यालय बेलहियाका अनुसार भारतीय पक्षले अन्य तेस्रो मुलुकका पर्यटकलाई सहज प्रवेश गराए पनि बेलहिया मार्ग हुँदै जाने चिनियाँ पर्यटकलाई भने पूर्णरुपमा रोकेको छ ।

 

कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन

काठमाडौँ । नेपाल सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन महिनामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा कोरोना (कोभिड–१९) महामारी व्यवस्थापनसम्बन्धी कार्ययोजनाबारे जानकारी दिइएको हो ।

विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरेको मन्त्रालयले जनाएको छ ।

विभिन्न निकायसँगको समन्वयमा चीनको वुहान प्रान्तमा रहेका १७५ विद्यार्थीलाई नेपाल ल्याई १४ दिन क्वारेन्टाइनमा राखिएकामा यही फागुन १७ गते अन्तिम पटकको नमूना परीक्षण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षलाई थप जनशक्ति तथा तीनवटा इन्फ्रारेड रेडिएशन थर्माेमिटर थप गरी सबै प्रभावित मुलुकबाट नेपाल आउने यात्रुको अनिवार्य जाँच गर्ने प्रबन्ध मिलाइएको मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

यसैगरी कोरोना सङ्क्रमणको रोक्न तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको उहाँले बताउनुभयो । उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरिएको छ ।

यही १७ गते प्रधानमन्त्री निवासमा सम्पन्न उच्चस्तरीय बैठकबाट प्राप्त सुझावका आधारमा मन्त्रालयबाट थप योजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

 

नीतिगत व्यवस्था तथा प्रणालीगत सुधार

मन्त्रालयले यस अवधिमा प्रदेशका सामाजिक विकास मन्त्री र सचिवहरूसँग मन्त्रिस्तरीय समीक्षा बैठक सम्पन्न गरेको, ‘स्वास्थ्य क्षेत्रमा साझेदारी निर्देशिका २०७६’ मन्त्रिपरिषद्बाट स्वीकृत भई लागू भएको, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीका लागि ‘स्वास्थ्य क्षेत्रको योजना तर्जुमा मार्ग निर्देशन २०७६’ स्वीकृत भई लागू भएको जनाएको छ ।

यसैगरी मुख्य तथा सहायक राजमार्ग नजिक अवस्थित स्वास्थ्य संस्थाहरूमा ट्रमा सेन्टर स्थापना तथा सञ्चालन गर्न एक कार्यविधिको निर्माण गरिएको, सिकलसेल एनिमियाको प्रभावकारी व्यवस्थापनका लागि ‘सिकलसेल एनिमिया परामर्श सेवा कर्नर स्थापनाको कार्यविधि’ तयार भएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

मन्त्रालयले यस अवधिमा घरमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित गर्न ‘घरमा आधारित स्वास्थ्य सेवा मापदण्ड र कार्यविधि २०७६’ स्वीकृत भएको, सङ्घीय ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७’ लाई आवश्यक संशोधन गरी स्वीकृत भएको, ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६’ स्वीकृत भएको जनाएको छ ।

केन्द्रीयस्तरका पाँच अस्पतालको अस्पताल विकास समिति गठन आदेश स्वीकृत भएको, कर्मचारीको कार्य सम्पादनलाई प्रभावकारी बनाउन नौबँुदे निर्देशन जारी भएको, साबिकको क्षेत्रीय क्षयरोग केन्द्र पोखरालाई गण्डकी प्रदेशमा हस्तान्तरण गरिएको छ । कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भइसकेकाले सोका लागि गठित समिति विघटन गरी बाँकीका कार्य कर्मचारी प्रशासन महाशाखाबाट सम्पादन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

मन्त्रालयले न्यूनतम सेवा मापदण्ड नौवटै सङ्घीय अस्पतालमा लागू भएको र १५औँ योजनाका दुई रूपान्तरणकारी कार्यक्रमहरू र छ प्रमुख कार्यक्रमहरू छनोट भएको जनाएको छ ।

 

सेवा प्रवाह विस्तार

प्रत्येक स्थानीय तहमा एक अस्पतालको नीतिअनुरुप १५ श्यया सम्मका थप २३६ स्वास्थ्य संस्था सूचीकृत गरिएको, पछिल्लो तीन महिनामा छात्रवृत्तिमा अध्ययन गरेका १८२ जना विशेषज्ञ चिकित्सकलाई देशभरिका विभिन्न अस्पतालमा खटाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी स्वास्थ्य बीमा कार्यक्रम थप २६ स्थानीय तहमा विस्तार गरी हालसम्म ५१ जिल्ला, ५०५ स्थानीय तहमा लागू भई बीमित गर्नेको सङ्ख्या २६ लाख ३४ हजार ३२६ पुगेको छ ।

यस अवधिमा वीर अस्पतालमा २० आइसियू श्यया थप गर्न प्रक्रिया अगाडि बढेको छ भने वीर अस्पतालको दुवाकोटमा सेवा विस्तार गर्ने सम्बन्धमा चिनियाँ पक्षबाट आँल्याइएका विषयवस्तु सरकारका तर्फबाट सम्बोधन गरिने प्रतिबद्धतापत्र अर्थ मन्त्रालयमार्फत चिनियाँ पक्षलाई पठाइएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

नौ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकाका लागि देशभरि फागुन र चैतमा दुई चरणमा सम्पन्न गर्ने गरी दादुरा रुबेला खोप अभियानको फागुन १ गते शुभारम्भ भएको छ । खोपलाई सुरक्षित तरिकाबाट भण्डारण गर्न, कोल्ड चेनको गुणस्तर र पहुँच बढाउन देशभरका थप १९० स्थानमा रेफ्रिजेरेटरहरु जडान गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी यस अवधिमा नेपालमा क्षयरोगको अवस्थाबारे यथार्थ जानकारी लिने उद्देश्यले पहिलोपटक क्षयरोग प्रिभेलेन्स सर्भे सम्पन्न भई प्रारम्भिक प्रतिवेदन तयार भएको छ भने स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवासम्बन्धी हरेक पाँच/पाँच वर्षमा हुने गरेको नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको दोस्रो सर्वेक्षणको कार्य प्रारम्भ भएको छ ।

यो पनि पढ्नुहोस्ः

अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation