साढे ४ प्रतिशत घट्यो नेप्से, सर्वाधिक घट्नेमा लघुवित्त कम्पनी

 अर्थ बुलेटिन संवाददाता   २१ फागुन, २०७६



काठमाडौं । नेप्से उच्च अंकले घटेपनि कारोबार रकम बढेको छ । आज बुधबार नेप्से ६८ दशमलव ४७ अंकले घटेर १४ सय ४१ दशमलव २० विन्दुमा पुगेको छ ।

आज १७४ कम्पनीको २९ हजार २३१ पटकको कारोबारमा कूल २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको ६७ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज पनि लघुवित्त कम्पनीहरुकै शेयरमूल्य सर्वाधिक घटेको छ।

सर्वाधिक शेयरमूल्य घट्ने १० कम्पनीहरुको सूचीमा यस दिन पनि सबै लघुवित्त कम्पनीहरु नै परेका छन्। सोमध्ये ९ कम्पनीहरुको शेयरमूल्यमा यस दिन नकारात्मक सर्किट लागेको छ। नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा, स्वदेशी, कालिका, स्पर्श, सिभिल, फरवार्ड, घोडीघोडा र फस्र्ट माइक्रोफाइनान्सको शेयरमूल्यमा यस दिन नकारात्मक सर्किट लागेको हो।

लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेसँगै यस उपसमूहको परिसूचक पनि सोही दरले घटेको छ। आज लघुवित्त उपसमूहको परिसूचक ६.१६ प्रतिशत घटेको छ। कारोबारमा आएका सबै उपसमूहको परिसूचक घट्दा जीवन बीमा उपसमूहको परिसूचक भने ६.१ प्रतिशत घटेको छ।

घटेको बजारमा आज सामूदायिक लघुवित्त र रिलायन्स फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने न्यून रहेको छ। कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ।

सो इन्स्योरेन्सको यस दिन २६ करोड ६६ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज एनएमबि बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक र गुराँस लाइफ इन्स्योरेन्सको कारोबार रकम १० करोड नाघेको छ।

आज वाणिज्य बैंकहरुको मात्रै १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, जीवन बीमा कम्पनीहरुको ५३ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

आज मितेरी डेभलपमेन्ट बैंक, कालिका पावर, स्वदेशी लघुवित्त लगायतका कम्पनीहरुको मोस्ट पपुलर बाईमा परेका छ भने शिखर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, अरुण भ्याली लगायतका कम्पनीहरु मोस्ट पपुलर सेलमा परेका छन्।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation