

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । महामारी कोरोना कोभिड १९ को कारणले गत २०७६ चैत्र ११ गते देखी नेपाल सरकारले देशब्यापी बन्दाबन्दी लक डाउन गर्दैआईरहेको छ ।
सोको कारणले आर्थिक तथा ब्यबसायिक गतिबिधि हुन नसक्दा उद्योगी, ब्यबशायी तथा अन्य ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा मति वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनि बर्गिकरण गरेका कर्जाका क्षेत्रहरु बाहेक अन्य सबै कर्जाहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा दुई बिन्दूले कम गरी २०७६/७७ को चौथो त्रैमास (२०७७ को बैशाख, जेष्ठ र असार) को ब्याज गणनागर्न निर्देशन भए बमोजिम यस नेपाल बैंक लिमिटेडद्वारा बैशाख १ गतेदेखी लागू हुनेगरी २०७६ चैत्र सम्म लगानी गरिएका कर्जाहरुमा चैत्र मसान्तमा कायम ब्याजदरमा दुई बिन्दूले छुटदिने निर्णय गरेको हो ।
बैंकद्वारा २०७६ चैत्र मसान्त सम्म लगानी भएका कर्जाहरु जस्तैः हाईपोथिकेशन, अधिविकर्ष, चालुपूँजी, मार्जिन, डिमाण्ड, सूनचाँदी, हायर पर्चेज, ब्यक्तिगत आदीको हकमा चैत्र मसान्तको आधारदर सात दशमलव ८२ मा लगाईएको प्रिमियममा दुुई बिन्दूले छुट दिने ब्यबस्था मिलाईएको छ ।
यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणिको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फाल्गुण मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत बैशाख देखी असार सम्मको अबधिको ब्याजमा दुुई बिन्दूले छुट पाउनेछन् ।
२०७७ साल बैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुबिधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुबिधा प्रदानगर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदर बराबरकै अर्थात सात दशमलव ८२ प्रतिशत कै न्यूनतम ब्याजदर सुबिधा प्राप्तगर्न सक्नेछन् ।
बन्दाबन्दीको यस बिषम परिस्थितिमा पनि नेपाल बैंक लिमिटेडद्वारा संभव भएसम्म न्यूनतम कर्मचारीहरुको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङ्ग, लगायतका कारोबारहरु बिहान ११ः०० बजे देखी अपरान्ह २ः०० बजे सम्म संचालन गर्दै आईरहेको छ ।
देशका कतिपय स्थानिय निकाय एवं जिल्ला प्रशासनद्वारा अनुरोध/निर्देशन भई आएमा सोही बमोजिम शाखाहरु आलोपालोमा संचालन हुँदै आईरहेको र बैंकद्वारा डिजिटल बैंकिङ्गको माध्यमबाट ग्राहकबर्गमा बिभिन्न बैकिङ्ग सेवाहरु निशुल्क उपलब्ध गराउँदै आएको समेत जनकारी दिएको छ ।