लक डाउन खुकुलो बनाउः नेपाल निर्माण व्यवसायी महासंघ

 अर्थबुलेटिन संवाददाता   २० जेठ, २०७७



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुले मंगलवार  उप–प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलल समक्ष कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावबारे जानकारी गराएका छन् ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखेरल समक्ष निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनका बीच पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सुझाव राखेका थिए ।

महासंघको तर्फबाट सुझाव राख्दै अध्यक्ष रवि सिंहले कोरोनाको संक्रमण लामो समय सम्म रहने हुँदा अब लक डाउनलाई केही खुकुलो बनाउँदै उच्च सतर्कता अपनाई निर्माण कार्य गर्नुपर्ने भए नदीजन्य सामाग्री र अन्य निर्माण सामाग्री सहज रुपमा उपलब्ध हुनुपर्ने बताए ।

अध्यक्ष सिंहले स्थानीयलाई रोजगारी दिने र विदेशबाट स्वदेश फर्कने र अन्य क्षेत्रबाट बेरोजगार हुने करीब पन्ध्र लाख श्रमिकहरुलाई रोजगारी सृजना गर्नका लागि स्थानीय जिल्लामा पाँच करोड रुपैया सम्मका निर्माण कार्यहरु खुल्ला बनाई स्थानीय स्तरमा प्रतिस्पर्धा गराउने गरी प्याकेज बनाउनुपर्ने धारणा राखे । 

भौतिक पूर्वाधारको विकास मार्फत समृद्ध अर्थतन्त्र निर्माण गर्ने बजेटको उद्देश्य प्राप्त गर्न र कोभिड—१९ को कारण गम्भीर असर परेको निर्माण व्यवसायको उत्थानका लागि  महासंघले नेपाल सरकारलाई बजेट निर्माणका सन्दर्भमा उपलब्ध गराएका सुझावहरुमध्ये बाँकी सम्बोधन हुन नसकेका सुझाव कार्यान्वयनको लागि पनि अध्यक्ष सिंहले अनुरोध गरे ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वर्तमान विषम अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आयोजना गरेको छलफल कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष सिंहसँगै पूर्व अध्यक्ष यक्षध्वज कार्की, महासंघका एसोसिएट तर्फका उपाध्यक्ष आङ दोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, निर्माण व्यवसायी लालकाजी गुभाजु, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐरको सहभागिता थियो ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation