बद्रीकुमार गुरागाईं पुनः राष्ट्रिय सहकारी बैंकको कार्यकारी प्रमुख नियुक्त

 अर्थबुलेटिन संवाददाता   २९ जेठ, २०७७



काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सि.ए. बद्रीकुमार गुरागाईं पुनः नियुक्ती हुने भएका भएका छन् । बैंक सञ्चालक समितिको बुधवार सम्पन्न वैठकले गुरागाईलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

२०७५ साल पुस ३ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरागाईको समयावधी सकिन ६ महिना पहिला नै बैंक सञ्चालक समितिले पुनः ४ वर्षका लागि समय थप गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।

म्याद सकिन भन्दा ६ महिना पहिला प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नु पर्ने बैंकको प्रावधन रहेको छ । त्यस भन्दा पहिला नायव महाप्रवन्धकका रुपमा गुरागाईले काम गरेका थिए ।     

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को समेत पूर्व प्रमुख कार्यकारी अधिकृत भइ काम गरेका गुरागाईको सहकारी क्षेत्रमा लामो अनुभव छ । देशभरका सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि गुरागाईको थप योगदान हुने ठहरका साथ आगामी ४ वर्षका लागि म्याद थप गरिएको वैठकका सहभागीले बताएका छन् ।

सञ्चालक समितिको निर्णय, सदस्य संघ संस्थाहरुको आवश्यकता र चाहनालाई मध्यनजर गरेर सहकारी क्षेत्रमार्फत देशको समग्र आर्थिक तथा सामाजिक योगदानमा प्रतिफल दिने गरी सहकार्य गरेर अगाडि बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले प्रतिवद्धता व्यक्त गरेका छन् ।     

बैंकको वैठकले कोरोना संक्रमणका कारण जारी लकडाउनमा सदस्य संस्थाहरुको कारोबार नभएको र त्यसबाट पर्न गएको अवस्थालाई मध्यनजर गरी लकडाउन अवधीमा पाकेको ब्याजको १० प्रतिशत छुट दिएकोमा असार १ गतेदेखि २ प्रतिशत ब्याज घटाउने निर्णय गरेको छ । वचत र कर्जामा बढीमा २ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिए ।

नेपालको संविधान २०७२ को प्रावधान अनुसार मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रसंगको सहकार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आव्हान गर्ने, ७ सय ५३ वटै स्थानीय तहहरुलाई बजेट निर्माणका क्रममा राष्ट्रिय सहकारी बैंक सहित सहकारी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्नका लागि सुझाव दिने निर्णय वैठकले गरेको छ ।    

बैंकका सञ्चालक तथा प्रदेश नं. १ का संयोजक महेन्द्र गिरीका पिता बम बहादुर गिरीको २०७७ जेठ २४ गते भएको निधनप्रति दुख व्यक्त गर्दै वैठकले मृतकप्रति श्रद्धाञ्जली परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation