राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक, निर्यातमा सामान्य सुधार

 अर्थबुलेटिन संवाददाता   ३ असार, २०७७



काठमाडौँ । निर्यातमा सामान्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा ८२ अर्ब छ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको १० महिनाको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुुसार कुल वस्तु निर्यात चार दशमलव पाँच प्रतिशतले वृद्धि भई ८२ अर्ब छ करोड रुपैयाँ पुुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १६ दसमलव एक प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८ दशमलव छ प्रतिशत र १४ दसमलव छ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एम.एस. पाइप, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुस लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालुु आवको १० महिनामा कुल वस्तु आयात १३ प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दसमलव छ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत,चीन तथा अन्य मुलुकबाटभएको आयात क्रमशः १७ दशमलव पाँच प्रतिशत, सात दसमलव छ प्रतिशत, र दुुई दशमलव नौ प्रतिशतले घटेकोे छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेललगायतका वस्तुको आयात बढेको छभने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट,सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ बीरगंज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को दश महिनामा कुल वस्तु व्यापार घाटा १४ दसमलव दुुई प्रतिशतले घटी भई नौ खर्ब ४३ अर्ब ७ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १९ दशमलव सात प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दशमलव सात प्रतिशत रहेको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation