२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।
यसअघि विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा खतिवडाले शुरुमा राष्ट्रसेवक कर्मचारीको बचतलाई प्रोत्साहित गर्न र अवकासपछिको आर्थिक जीवनलाई सहज तुल्याउन कोषको व्यवस्था गरिएको बताए । उनले कोषको दायरालाई क्रमशः बढाउँदै लैजानुपर्ने अवस्था रहेको तथा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषसँग नबाझिनेगरी विधेयक संशोधन गरिएको जानकारी दिए ।
त्यसअघि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा भाग लिँदै सांसद दिब्यमणिराज भण्डारी, प्रदीप गिरी, प्रेम सुवाललगायतले सरकार र नागरिकले विश्वास गरेर जम्मा हुने कोषको रकमलाई शिक्षा, स्वास्थ्य, जलविद्युत् र कृषिलाई प्राथमिकता दिएर उपयोग गर्नुपर्ने बताए । नागरिकको सरोकार र सम्मानको अवसरलाई ध्यान दिएर कोषको रकम सदुपयोग गरिनुपर्नेमा पनि उनीहरुले जोड दिए ।
भन्सार विधेयक पेश
प्रतिनिधिसभाको आजको वैठकमा ‘भन्सार विधेयक, २०७७’ पेश भएको छ । वैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक पेश गरेका हु्न्। त्यसअघि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री डा खतिवडाले अन्तरराष्ट्रियस्तरको भन्सार प्रणाली विकास गर्न विधेयक प्रस्तुत गरिएको बताए । उनले नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएकाले अन्तरराष्ट्रिय व्यापारको सिद्धान्त र कार्यविधि अनुरुप नेपालको भन्सारलाई अध्यावधिक गर्नुपर्ने तथा भन्सार छुटजस्ता विषयलाई विधेयकले सम्बोद्धन गरेको उल्लेख गरे ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको पाँच विधेयक राष्ट्रियसभाबाट पारित भएको सन्देशको जानकारी गराएका थिए । ती विधेयकमा ‘विनियोजन विधेयक, २०७७’, ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ रहेका छन् ।
त्यस्तै बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गरिन् । प्रतिनिधिसभाको अर्को वैठक यही असार १७ गते अपरान्ह १ बजे बस्नेछ ।