![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । पछिल्लो २४ घण्टा देशभरवाट १ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित मध्येमा करिव ६० प्रतिशत उपत्यकाका रहेका छन् ।
यो अवधिमा देशभर कुल ९ हजार १६५ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) गर्दा १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरुमा ३६५ जना महिला र ६७४ जना पुरुष रहेका छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५४ हजार १५९ जना पुगेको छ । देशभरमा संक्रिय संक्रमित संख्या १५ हजार ११७ रहेका छन् ।
आइतवार (भाद्र २८ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को औपचारीक जानकारी गराएका हुन् ।
उपत्यकामा कोरोनाः
आज मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८३ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ८१ जना गरी कुल ५९७ जना रहेका छन् । आज देशभर थपिएको १०३९ जना मध्येमा उपत्यकाको यो संख्या ५७ दशमलव ४६ प्रतिशत हो ।
कोरोनावाट मृत्युः
पछिल्लो २४ घण्टामा देशभरवाट ३ जना महिला र ६ पुरुष गरी कुल ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनको संख्या ० दशमलव ६४ प्रतिशत रहेको छ । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३५४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेहरुमा प्रदेश १ मा मोरङका ६९ वर्षिय पुरुष, वाग्मती प्रदेशमा काठमाडौंका ६५ वर्षका २ जना महिला र ५९, ७०, ६४ र ५९ वर्षका ४ जना पुरुष, गण्डकी प्रदेशमा कास्कीकी ४५ वर्षिय महिला गरी कुल ९ जना रहेका छन् ।
कोरोना मुक्तः
देशभरवाट पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १७३ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म देशभरवाट कोरोना मुक्त हुनेहरुमा ३८ हजार ६९७ पुगेको छ ।
हालसम्म कोरोना मुक्त हुनेहरुमा प्रदेश १ मा ३ हजार ४४१ जना, प्रदेश २ मा १० हजार ८३१ जना, वाग्मती प्रदेशमा ७ हजार ३८४ जना, गण्डकी प्रदेशमा २ हजार २१८ जना, प्रदेश ५ मा ६ हजार ४६६ जना, कर्णाली प्रदेशमा २ हजार ४८६ जना र सुदुर पश्चिम प्रदेशमा ५ हजार ८७१ जना रहेका छन् । कुल संक्रमितका आधारमा कोरोना मुक्त हुने यो संख्या ७१ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आइसियु र भेन्टिलेटरः
हाल देशभर आइसियूमा १६९ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ६ जना, प्रदेश २ मा ९ जना, वाग्मती प्रदेशमा ११७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना रहेका छन् । सुदुर पश्चिम प्रदेशमा आइसियुमा उपचाररत विरामी नभएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, हाल देशभर २३ जना भेन्टिलेटरमा उपचाररत रहेकाछन् । जसमा प्रदेश १ मा १ जना, वाग्मती प्रदेशमा २० जना, प्रदेश ५ मा १ जना र सुदुर पश्चिम प्रदेशमा १ जना रहेका छन् ।
५०० माथि र ० संक्रमित जिल्लाः
मन्त्रालयको पछिल्लो विवरण अनुसार ५०० भन्दा धेरै सक्रिय संक्रमितहरु रहेको जिल्लाको संख्या ८ वटा रहेको छ । ति जिल्लाहरुमा मोरङ, सुनसरी, सर्लाहि, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । यसैगरी, ० सक्रमित रहेका जिल्लाहरुमा सोलुखुम्वु, मुस्ताङ्ग, म्यग्दी, डोल्पा र हुम्ला रहेका छन् ।
कुल संख्याः
हाल देशभर कुल संक्रमित संख्या ५४ हजार १५९, कुल संक्रिय संक्रमित १५ हजार ११७, कुल डिस्चार्ज संख्या ३८ हजार ६९७, कुल मृतक संख्या ३४५, कुल पिसिआर संख्या ८ लाख ४० हजार ५२७ जना रहेका छन् ।
यसैगरी, विश्वभर सक्रिय संक्रमित संख्या २ करोड, ८९ लाख, ४७ हजार, ५१० जना, विश्वभर कुल मृतक संख्या ९ लाख २४ हजार ६१९ जना र विश्वभर कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या २ करोड ८ लाख १३ हजार २२१ जना रहेका छन् ।