राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य

 अर्थबुलेटिन संवाददाता   २८ भदौ, २०७७



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला)  बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पछि नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताउनुभयो । नगर प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसंग सम्बन्धित लक्ष्य प्राप्त गर्नकोलागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताउनुभयो ।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताउनुभयो ।

कार्यक्रम कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, कम्पनी सचिव भोलानाथ पौडेल, राजन घिमिरे, प्रकाश राई, नगरपालिकाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation