![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । टेण्डरमा सम्झौता अनुुसार मल नल्याएका दुई कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको छ । सोमवार कृषि सामाग्री कम्पनीले कानुनी परामर्श गरी उक्त सिफारिस गरेको हो ।
सम्झौताअनुसार युरिया मल आपूर्ति गर्न नसकेका दुई ठेकदार कम्पनी शारदाप्रसाद अधिकारीको शैलिङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कालोसूचीमा राख्न कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।
कृषि सामाग्री कम्पनी लिमिटेडसँग २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका थिए । यी दुई कम्पनीले तोकिएको समयमा मल ल्याउन नसकेपछि सरकारले यसअघि नै सबै सम्झौता रद्द गरेको थियो ।
गत भदौं २१ गते नै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रचलित कानुन एवम् सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम आपूर्तिकर्ताहरुसँग क्षतिपूर्तिको दावी गर्नुको साथै सम्बन्धित दुवै कम्पनीहरुलाई कालोसूचीमा राख्न आवश्यक प्रकृया अगाडि बढाउने जानकारी गराएको थियो ।
कृषि सामाग्री कम्पनी लि.ले आफैंले निकालेको टेण्डर कबोल गरेका यी दुई कम्पनीसँग पटक–पटक मौखिक तथा लिखित रुपमा जानकारी लिएको थियो । जहिले पनि आलटाल गरेपछि कृषि समाग्री कम्पनी कारवाहीको चरणमा पुगेको हो ।
कम्पनीहरुले गत पुस–माघमा टेण्डर हात पारेपछि भदौं २० गतेभित्र मल आपूर्ति गरिदिने सम्झौता गरेका थिए । तर, तोकिएको अवधिमा मल ल्याउन नसकेपछि अहिलेको अवस्था सिर्जना भएको हो ।