२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ बर्षीय महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ ।ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
देशभरः
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हाल्सम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जना ९६६ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ । यसैबीच बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।