२० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   ११ असोज, २०७७



काठमाडौं । आज नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार  नौ बर्षे अवधिको विकास ऋणपत्र २०८६ घ बिक्री गर्न लागिएको हो ।

बोलकबोलको माध्यमद्वारा बिक्री हुुने उक्त ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आईतबार अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

राष्ट्र बैंकका अनुुसार अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्रको परिपक्व हुुने अवधि वि.सं. २०८६ साल असोज १२ गते तोकिएको छ ।

खरिदकर्ताहरुलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा छुट्याइएको यो ऋणपत्र प्रतिस्पर्धी समूहलाई कुुल निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १७ अर्ब रुपैयाँ छुुट्याएको छ ।

बाँकी रहेको १५ प्रतिशत अर्थात् तीन अर्ब  रुपैयाँको ऋणपत्र भने अप्रतिस्पर्धी समूहलाई बिक्री गरिनेछ । खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नुपर्नेछ । ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुुने राष्ट्र बैंकले जनाएको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation