![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । तातोपानी नाका खोल्ने निर्णय भएको छ । मंगलबार नेपाली र चिनियाँ पक्षबीचको बैठकले आगामी असोज १९ गतेदेखि चीनसँगको महत्त्वपूर्ण व्यापारिक तातोपानी नाका खुला गर्ने निर्णय गरेको हो । लामो समयदेखि बन्द रहेको नाका द्वीपक्षीय बैठकले असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।
असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढकालले जानकारी गराए । सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने तथा अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा ल्याउने तयारी भएको उनको भनाइ छ । दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपालतर्फबाट सीडीओ ढकालसहितका अधिकारीहरु सहभागी थिए ।
लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको थियो । व्यवसायीहरुले नाका खुला गर्न लामो समयदेखि सरकारी निकाय घच्घच्याउँदै आएका थिए ।
तातोपानी नाकाभन्दा करिब ३५ किमिमाथि चिनियाँ भूभागमा रहेको ‘क्यानोन कु’ ताल विष्फोटन हुन लागेकोले त्यसको पानीको सहत घटाउने भन्दै नाका बन्द गरिएको थियो । यहीबीचमा कोरोनाभाइरसको संक्रमण समेत बढेपछि नाका बन्द हुँदै आएको थियो । यसो त अहिले चीनसँगको अर्को नाका रसुवागढी समेत प्रभावित रहेको छ ।