श्री लाली गुराँस सहकारी २२ औं वर्षमा प्रवेश, एटिएम सेवा सञ्चालनमा

 अर्थबुलेटिन संवाददाता   १५ असोज, २०७७



काठमाडौं । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । २२ औं वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरे । 

उनले २२ औं वर्ष अवधिमा संस्थाले आफ्नो लगानीमा आज असोज १५ गतेबाट लालीगुँरास दुग्ध प्रसोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको घोषणा गरे  । संस्थाले गोदाबरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायीक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको छ ।

चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फाम स्थापना गरेर उत्कृष्ठ संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप  सुविधा दिदै जाने प्रतिबद्धता जनाएको छ ।

संस्थाका  प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए । संस्थाले आजैबाट संस्थाको एटिएम सेवा सुरु गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उद्घाटन हुनेछ  । पुल्चोक स्थित मुख्य कार्याललयमा राखिएको एटिएममा  आजैबाट सेवा दिनेछ । अब सबै शेयर सदस्य एटिएम सेवा लिन सक्ने संस्थाले जनाएको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा आफ्ना अन्य सेवा सुविधा काउण्टरमा एटिएम बुथ स्थापना गरी सोही स्थानबाट सेवा दिने बताए । ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्युरोड ,भक्तपुरको कौशलटार र  चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ । संस्थामा हाल झण्डै २१ हजार शेयर सदस्य छन् ।  ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भदौ १८ गते दर्ता भई २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री लालीगुराँस राष्ट्रियमावि  र लालीगुराँस कलेज प्रालि तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षाक्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि÷कलेज प्रा.लि., डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी छ ।

संस्थाले आफ्नो सेवालाई  स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालि प्रदान गर्दै आई रहेको छ ।  संस्थाले आगामी वर्ष आफ्ना सदस्यलाई थप सुविधा दिन  उपत्यकाका विभिन्न स्थान विभिन्न क्षेत्र  र जिल्लामा  सेवाहरु विस्तार गर्ने भएको छ  ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै गएको बताए ।


उनले ब्यादर घटाउने, एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुन पाउने जस्ता अब्यवहारिक नीति ल्याएर दुःख दिन थालेको उल्लेख गरे । नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोण फरक हुनुपर्ने  बताउदै नकरात्कम दृष्टीकोणलाई परिवर्तन गर्न जरुरी रहेको स्पष्ट पारे । संस्थाले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नेभएको छ ।

अन्तमा संस्थाको २२ औं वार्षिकोसवको सुखद उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण शेयरसदस्य महानुभावहरु तथा शुभचिन्तकहरुबाट आगामी वर्षहरुमा समेत सुझाव, सल्लाह तथा सहयोग पाई रहनेमा हामी विश्वस्त रहेका छौं । आगामी दिनहरुमा यस संस्थाबाट सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधाहरु थप प्रभावकारी रुपमा प्रदान गरिने व्यहोरा संस्थाले जनाएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation