२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले छ । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ थियो ।
पछिल्लो २४ घण्टामा थप १,१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६८ हजार ६६८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको थियो । मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।