२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ थियो ।
पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ रहेको थियो ।
मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको थियो ।पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।