२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ थियो ।
देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् ।
उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० रहेको थियो । मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।