दुई महिनामै भित्रियो १ खर्ब ६५ अर्ब विप्रेषण

 अर्थबुलेटिन संवाददाता   ५ कार्तिक, २०७७



काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल रु एक खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण आप्रवाह भएको छ । गत साउनमा रु ९२ अर्ब ७० करोड विप्रेषण आप्रवाह भएको थियो ।

  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरण अनुसार  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई एक अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो । 

यस्तै गत भदौ मसान्तसम्म चालू खाता रु २६ अर्ब सात करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई रु एक  अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३।३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब ९८ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation