२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । वैदेशिक सहयोग साढे ४ गुणाले बढेको छ । विदेशी निकायले नेपाललाई दिने सहायता यो वर्ष साढे ४ गुणाले बढेको छ । पछिल्लो ३ महिनामै ८५ अर्ब सहयोग प्राप्त भएको छ । आर्थिक वर्ष २०७७÷७८ को असोजसम्म प्राप्त भएको विदेशी अनुदान तथा ऋण सहायताको हिस्सा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ सय ४४ प्रतिशत बढी रहेको देखिएको हो ।
अर्थ मन्त्रालयका अनुसार असोजसम्म विभिन्न द्विपक्षीय तथा बहुपक्षीय राष्ट्रहरुबाट कुल ८५ अर्ब ४० करोड रुपैंया वैदेशिक सहायता प्राप्त भएको छ । अघिल्लो वर्षको यही समयमा १५ अर्ब ६७ करोड रुपैंया मात्रै वित्तीय सहायता प्राप्त भएको थियो । उक्त सहायतामध्ये ९१ प्रतिशत ऋण तथा ९ प्रतिशत अनुदान रहेको छ ।
त्यसरी प्राप्त भएको सहयोगमध्ये सडक तथा सुशासनका लागि ६३ प्रतिशत, उर्जाका लागि ३३ प्रतिशत, कोभिड महामारीका लागि १।९ प्रतिशत शिक्षाका लागि २ प्रतिशत तथा पुनर्निर्माणका लागि १ प्रतिशत रकम सहयोग प्राप्त भएको मन्त्रालयको तथ्यांक छ ।