लेखा समितिले स्वास्थ्य मन्त्री ढकाललाई छलफल गर्न बोलाउने

 अर्थबुलेटिन संवाददाता   २६ मंसिर, २०७७



काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संघीय संसदको सार्वजनिक लेखा समितिले छलफल गर्न  बोलाउने भएको छ । समितिले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि  स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न मन्त्री ढकाललाई बोलाउन लागेको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो ।

त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा। रोजनाथ पाण्डेले बताए । समितिले यस अघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरीकन ओम्नी समूह मार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो ।

तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन् । अवको बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।

यस्तै समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले बताए ।

विशेष गरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने शिलशिलामा भएका अनियमितताका कुराहरुलाई लिएर उजुरी परेको छ । सडक निर्माण, विद्युत प्राधिकरणमार्फत हुने ठेक्काको विषयलगायतका विषयमा उजरी परेको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा उपसमितिले अध्ययन गरेको विषयमा समेत आगामी बैठकमा छलफल गर्ने तयारी गरिएको पनि पाण्डेले बताए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation