

२२ चैत, २०८१ | 04 Apr, 2025
गाई, भैंसी दूध उत्पादनका लागि पालिने व्यवसाय हो । भैंसी व्यवसाय आर्थिक दृष्टिकोणले बहु आयामिक चौपाया हुन् ।
पशुसेवा विभागले भैंसीलाई कालो सुनको संज्ञा दिइएको छ । सुनलाई आवश्यक पर्ने वेला बन्धक÷विक्री गर्न सक्ने झै भैंसीलाई पनि सकिने हुनाले सुनको संज्ञा दिइएको विभागको भनाई छ । लैना (दूध दिने), थारा पाल्न नसक्ने अवस्थामा मासु प्रयोजनको लागि विक्री हुने, पाडा गाडा तान्ने, खेत जोत्ने अथवा सजिलै विक्री हुने हुनाले गाईको तुलनामा बहु आयामिक भनिएकोे हो ।
वि.स. २०७५/०७६ को नेपालको तथ्याँक बमोजिम गाई र भैंसीको संख्या क्रमशः ७३ लाख ८५ हजार र ५३ लाख ८ हजार रहेको, बार्षिक कूल दूध २१ लाख ६८ हजार मे.टन. उत्पादन भएको, गाई र भैंसीले क्रमशः ७ लाख ९५ हजार (३७ प्रतिशत) र १३ लाख ७३ हजार (६३ प्रतिशत) दूध उत्पादन भएको (कृषि डायरी, २०७७) देखिन्छ । उपरोक्त तथ्याँङकले भैंसीको संख्या कम हुदाँ हुदै उत्पादन तथा उत्पादकत्व गाईको भन्दा अधिक रहेको पुष्टि हुन्छ ।
नियन्त्रण एवं व्यवस्थापनको हिसावले भैंसीको भन्दा गाई उपयुक्त रहेको कसैको दुईमत छैन । तसर्थ गाई घरघरै पालेको पाइन्छ भने भैंसी सो अनुकूल नरहेको देखिन्छ । यो आलेख बाँके जिल्लाको डुढुवा गाउँपालिका वडा नं. ३ का कृषकहरुको स्थलगत अध्ययन गरि भैंसीपालन व्यवसायवाट निजहरुको भौतिक, वित्तिय एवं आर्थिक अवस्थाको वारेमा उल्लेख गरिएको छ ।
बाँके जिल्लामा गाई भन्दा भैंसी २३ हजार ४८ ले बढि रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २०७६ को तथ्याँकबाट देखिन्छ । करिव १० कि.मी. नेपालगञ्जको पूर्व तर्फ पर्ने डुडुवा गाउँपालिका वडा नं. ३ मा बस्ने कूल घरपरिवार मध्ये करिव ८५ प्रतिशतले खुल्ला रुपमा भैंसीपालन गर्दै आएको यस आलेखमा उल्लेख गरीएको छ । बाँके जिल्ला दुग्ध व्यवसायी संघका अध्यक्ष बदरुदिन अन्सारीको सहजीकरणमा तयार भएको अध्ययनले यस्तो तथ्याङ देखाएको हो ।
डुडुवा(३ का मुख्य बसोवासी यादवहरुको अधिकाँशकोे प्रमुख पेशा कृषि लगायत भैंसी पालन तथा दूध उत्पादन हो । बडेलाल यादव (८६), राम सुहावन यादव (९८), राम दयाल यादव (९५), रामशरण यादव (४०), मोहन यादव (३५) ठुला भैंसी पालक कृषकहरु हुन् ।
यस वडामा साना ठुला गरी करिव ११५० भैंसीहरु रहेको अनुमान गरीएको छ । कूल भैंसीको करिव ३५ प्रतिशत (४०३ भैंसी) ले दैनिक १२०० लिटर दूध दिन्छ ।
प्रत्येक कृषकको भैंसी बथान छ । विहान १० वजेसम्म गोठ बाहिर घाममा राख्ने र तत्पश्चात् खुल्ला चरीचरन गराउदै आएको छ । पानी खुवाउने, आहालको रुपमा प्रयोग गर्ने गाउँकै छेउको जलाधार डुडुवा नदिले साथ दिएको छ ।
डुडुवा – ३, परम्परागत पशुपालनको झलक
सार्वजनिक चारकोषे झाडी खजुरा जंगल, राप्ती पारीको तेती चरन, भागर चरन क्षेत्रले चरीचरन गर्न सहयोग गरेको छ । लैना पशुलाई विहान र वेलुका खुदर (धान र गहुँको भुस), परालको खदिया (परालको सा साना टुक्रा), मकैको ढोड, पिना आदि खुवाउने गर्दछ ।
औषत १ देखी ३ विघा खेती योग्य जग्गामा कृषकहरुले धान, गहुँ उत्पदन गरी कृषि उप उत्पादन पशुको आहारमा प्रयोग गरेको पाइन्छ । केहीं कृषकले सिजनमा बर्सिम तथा जै घाँस उत्पादन गरी पशुलाई खुवाउने गरेका छन् ।
डुडुवा – ३, कृषिको उप उत्पादन (पराल) संरक्षणको झलक
एउटै वडाबाट ठुलो परिमाणमा उत्पादन हुने दूध दुग्ध उत्पादक सहकारी संस्था मार्फत संकलन तथा विक्री हुनु दीगो व्यवसायको परिचायक हो । सहकारी संस्थाले वित्तिय मुनाफा भन्दा समाजलाई आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा बढावा दिन्छ ।
लामो समयसम्म दूध उत्पादन गर्दै आएको कृषकहरुको सो तर्फ ध्यन नपुगेकाले विक्री वुथ मार्फत हुने गरेको छ । यहाँ जाडो याममा विहान मात्र र गर्मि सिजनमा विहान र वेलुका गरी दुई पटक दूध संकलन गर्ने चलन रहेको छ ।
दूध खरीद गर्दाको गुणस्तर परीक्षण ल्याक्टोलाई आधार मानिएको छ । कहीलेकाहीं दूधको चिल्लो परीक्षण गरी सोहीलाई आधार मानी दूधको मूल्य रु. ४५ देखी ५५ सम्म पर्ने कृषकहरुको भनाई छ । यहाँका दूध संकलनकेन्द्र मार्फत नेपालगञ्ज दुग्ध वितरण आयोजना, जय बागेश्वरी दुग्ध उत्पादक सेवा लगायत नेपालगञ्जका साना दुग्ध उद्योगमा विक्री वितरण हुने गरेको छ ।
डुडुवा – ३, जय बागेश्वरी दुग्ध उत्पादक सेवाको संकलन केन्द्रको झलक
खाद्य ऐन, २०२३ ले भैंसीको दूधमा चिल्लो पदार्थ कमसेकम ५ प्रतिशत र चिल्लो रहित अन्य ठोस पदार्थ ८ प्रतिशत हुनु पर्ने तोकेको छ । भैंसीको दूध गाईको भन्दा बाक्लो, अधिक चिल्लो हुनु पर्नेमा अधिकाँश कृषकहरुको ४ फ्याट भन्दा मुनिको रहेको संकलन केन्द्रबाट जानकारी भयोे । दूधको गुणस्तर कम हुनुमा अधिक रकम पाउन दूधको मात्रा बढाउन पानी मिसाउने प्रचलन रहेको थाहा भयो ।
अधिकाँश कृषक घर परिवारका छोराछोरीहरु अशिक्षित रहेको, पढाई लेखाई भन्दा घर व्यववहार गर्ने, पशुपालन व्यवस्थापन गर्ने रहेको पाइयो । शिक्षाको अभावमा व्यवसायिक पशुपालन गर्न नसकिने, समाजिक सुधारका कार्य गर्न नसकिने स्वयं सिद्ध तथ्य हो ।
दूध आफै उच्च पोषिला खाद्यपदार्थ हो । उत्पादन गरेको दूध घर प्रयोजनमा कम खर्च गर्ने रहेकाले त्यस ठाउँका बालबच्चाहरु दुव्लो पात्लो रहेको, कुपोषणको शिकार भएको हुन सक्ने अनुमान गरीएको छ ।
कृषकहरुको मुख्य पेशा खेती एवं पशुपालन हो । खेती योग्य जमिन पर्याप्त नरहेकाले पशुपालन तथा दूध उत्पादन गर्ने प्राथमिकतामा परेको छ । दूधको विक्रीबाट पशुलाई खुवाउने चोकर, पिना, नून लगायत औषधी उपचार गर्ने तथा घर व्यवहार चलाउने गरेको पाइयोे । केही मानिस बाहेक अन्यहरुलाई कुनै थप व्यवसाय नभएकाले आर्थिक अवस्था कमजोर थाहा भयो ।
डुडुवा-३ मा कलष्टरको रुपमा ठुलो परिमाणमा भैंसी पालन गरेको सायद नमुनाको रुपमा हुन सक्ने अनुमान गर्न सकिन्छ । दूधको गुणस्तरमा आधारीत खरीद विक्री गर्नाले दूधको मूल्य श्रृँखलाको विकास हुने, दीगो व्यवसाय हुने हुदा दुग्ध उत्पादक सहकारी संस्था खोल्नु आवश्यक छ ।
स्थानीय जातका पशुले कम दूध दिए पनि कम रोग लाग्ने, स्थानीय बातावरण मन पराउने, थोरै खुराकले पुग्ने हुदा लोप हुन लागेकाले सरकारले विशेष प्राथमिकतामा राखी भ्ह(कष्तग अयलखभचकबतष्यल, श्रोत केन्द्रको रुपमा विकास गर्नु अर्को पक्ष हुन सक्दछ ।
व्यापारी, वैज्ञानिक, उद्यमी, विद्यार्थी जुनसुकै समुदायको भए पनि कृषकले उत्पादन गर्ने खाद्यपदार्थमा आधारीत रहनु पर्ने हुदा उपरोक्त पशुपालनलाई दीगो व्यवसायिकरण गर्न Breeding, Feeding, Animal Health, Overall Management, Training इत्यादि उपलब्ध गराउनु सरोकारवाला सबैको कर्तव्य हो ।
यसवाट उत्पादन तथा उत्पादकत्व वृद्धि हुने, स्वदेशी उत्पादनले आत्म विर्भर बन्ने, आयात प्रतिस्थापन भई निर्यात प्रवद्र्धन हुन बल पुग्ने आशा गरीएको छ ।