राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने कर अब मोबाईल बैंकिङ्गबाटै भुक्तानी गर्न सकिने

 अर्थबुलेटिन संवाददाता   ८ माघ, २०७७



काठमाडौं । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा  राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएकाछन् । मोबाईल बैंकिङ मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडबीच सम्झौता समेत भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका हुुन ।
करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।

मोबाईल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदाताहरूलाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरि बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरि करदाता संकेत नम्बर तथा  अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिनेछ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा भन्दा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने  एक लाख ८० हजार बढि मर्चेन्ट रहेका छन् । ९० लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत  यसले सेवा प्रदान गर्दै आएको छ । फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि।टु।वान प्रमाणीकरण प्राप्त संस्था हो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation