नेप्सेमा एकल अंकको वृद्धि

 अर्थबुलेटिन संवाददाता   २२ माघ, २०७७



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयरबजार सामान्य बढेको छ । सुरुवाती समयमा देखिएको उतार–चढावका बाबजुद् केही समयमा नै सम्हालिएको बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.३४ अंकले वृद्धि भएर २४७५.२६ अंकमा बन्द भएको छ ।

यसअघि यही साता मंगलबार २४७३।७४ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से बुधबार सामान्य करेक्सन भए पनि आज पुनः उकालो लाग्दा उक्त रेकर्ड तोडिँदै बन्द भएको छ ।

बिहीबार प्रिओपन सेसन दोहोरो अंकले वृद्धि भएर २४७९.६१ अंकमा खुलेको नेप्से इन्ट्रा–डे कारोबारमा २४८२.१४ अंकसम्म पुगेको थियो भने २४४३.०४ अंकको तल्लो विन्दु कायम गरेको थियो ।

बुधबार इन्ट्रा–डे कारोबारमा नेप्से २५२०.३७ अंकसम्म पुगे पनि अन्तिममा एकल अंकको समान्य गिरावटसहित बन्द भएको थियो ।

संसद् विघटनपछि देखिएको राजनीतिक घटनाक्रममा पनि लगातार बढेको नेप्सेमा बन्द, हड्तालका कार्यक्रम सुरु भएसँगै भने लगानीकर्तामा अन्योलता बढेको छ ।

जसले गर्दा बुधबार साढे नौ अर्बको कारोबार भएको बजारमा आज भने साढे सात अर्बको कारोबार भएको छ ।

आज नेप्सेमा ७२ हजार १७० कारोबारमा २०१ कम्पनीको एक करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६१ करोड ५० लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा उपसूचकहरु भने मिश्रित देखिएका छन् । बजारलाई लिड गर्ने बैंकिङ, जीवन बिमा र विकास बैंकको सूचक रातो हुँदा पनि लघुवित र हाइड्रोपावरमा हरियाली देखिँदा नेप्से सामान्य वृद्धि भएको हो ।

बैंकिङ सूचक ०.४३ प्रतिशत, होटेलको सूचक ०.९९ प्रतिशत, विकास बैंकको सूचक ०।२५ प्रतिशत, वित्त कम्पनीको सूचक ०.९८ प्रतिशत, जीवन बिमाको सूचक ०.३८ र म्युचुअल फन्ड समूहको सूचक ०.१ प्रतिशतछले करेक्सन भएको छ ।

यता, व्यापार समूहको सूचक ४.५१ प्रतिशत र लघुवित्त ३.५२ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर १.९२ प्रतिशत, उत्पादनको सूचक १.३९ प्रतिशत, निर्जीवन बिमाको सूचक ०.६१ र अन्य समूहको सूचक ०.०८ प्रतिशतले बढेको छ ।

बिहीबार लघुवित्तमा अध्यधिक खरिद चाप देखिँदा बजारमा १५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सर्किट लाग्नेमा १० लघुवित्त र पाँच हाइड्रोपावर कम्पनी रहेका छन् ।

सेयर मूल्य सबैभन्दा धेरै घट्नेमा प्रभु लाइफ रहेको छ । कम्पनीको सेयर मूल्य ३।४६ प्रतिशतले ओरालो लागेको छ  ।

कारोबार रकममा भने बजारको नेतृत्व नेपाल पुनर्बिमा कम्पनीले गरेको छ । कम्पनीको २७ करोड ५३ लाख ८३ हजारको कारोबार हुँदा डेप्रोक्स लघुवित्तको २४ करोड र ग्लोबल आईएमई बैंकको साढे २० करोडको कारोबार भएको छ ।

सबैभन्दा धेरै कित्ता सेयर कारोबार भने सिभिल बैंकको ६ लाख ८४ हजार ९११ कित्ता किनबेच हुँदा प्रभु लाइफको सबैभन्दा धेरै ६ हजार ३९१ वटा कारोबार भएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation