बीमा क्षेत्रका समस्या केलाउन अर्थमन्त्रीको निर्देशन

 अर्थबुलेटिन संवाददाता   २२ माघ, २०७७



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी काम गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् ।

बीमा समितिको नवनियुक्त अध्यक्षको आज मन्त्रालयमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनीयता कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनुपर्ने बताउनुभयो । राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने उल्लेख गरे ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरोरुपमा उत्रने र द्रुतमार्गमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा अर्थमन्त्री पौडेल र सचिवद्वयले नवनियुक्त अध्यक्ष सिलवालाई बधाई तथा शुभकामना दिएका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation