२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेपाल सरकारद्धारा नयाँ युगको सुरुवात भन्दै भव्यरुपमा सुरुवात गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै बैंकिङ तथा विमा क्षेत्रका कर्मचारीहरुले विरोध गरिरहेका बेला एनआई सी एशिया बैंकका कर्मचारीहरुले पनि यसको खुलेर विरोध शुरु गरेका छन् ।
उनिहरुले विरोधको भाषा मात्रै प्रयोग गरेका छैनन् की यसका विरुद्धमा ज्ञापन पत्रनै बुझाएका छन् । देशको सबैभन्दा धेरै शाखा रहेको ठुलो बैङक भएको नाताले एनआइ सी एशियाका कर्मचारीहरुको आन्दोलनले केहि दवाव सृजना हुन सक्ने उनिहरुको बुझाई रहेको छ ।
एनआई सी एशिया बैंक कर्मचारी संघ उक्त योजनाको विरोध २०७८ असार १८ गते शुक्रवारका दिन देशैभरी एनआई सी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै विरोध प्रर्दशन गरेका छन् ।
सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न यो संघ सरोकारवालाहरुसँग हार्दिक अपिल गर्दछ ।
“यस योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नु पर्ने आवश्यकता देखिएको भन्दै हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनमा कदापी संलग्न हुन नसकिने कुरामा यो संघ कटिबद्ध रहेको छ” संघले पेश गरेको ज्ञापन पत्रमा भनिएको छ ।
“हालको व्यवस्था न्युनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखीए पनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई भने खासै आवश्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मुर्तरुप दिन बैंकिङ्ग क्षेत्रका कर्मचारी वर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने हाम्रो माग रहेको छ” संघले भनेको छ ।
“सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारी वर्गको हितको लागी यो योजनाले काम गर्ने छ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ्ग कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागु गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको अवस्था सम्बन्धीत सबैलाई जानकारी गराउन चाहन्छौं र हाम्रा माग पुरा गरी न्यायोचित ढङ्गबाट उक्त सामाजिक सुरक्षा कार्यविधी परिमार्जन नगरेसम्म यो दबाब निरन्तर राख्ने छौं” भनि संघले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
एनआई सी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापा भन्छन् “एनआई सी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने होइन तर यथाअवस्थामा जुनविभेद गरिएको छ, त्यसको हामी विपक्षमा छौं र हामीले राखेका बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्नेछौं र थप शशक्त विरोधका कार्यक्रमहरु गर्दै जानेछौं” ।