२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । विगत केहि सातादेखिनै ओरालो लागिरहेको शेयर बजार विहिवार पनि भारी अंकले ओरालो लागेको छ ।
यस साता कुल ४ दिनको कारोबार अवधिमा ३ कारोबार दिन भने बजार दैनिक ५० भन्दा वढि अंकले बजार घटेको छ । बुधवार सामान्य भन्दा सामान्य अंकले बजारमा सुधार देखिएको भएपनि त्यो सुधार एक दिन भन्दा टिक्न सकेन ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १।१८ अंक बढेर २९७७।०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन ५०।१३ अंक घटेर २९२६।८९ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ८।९ अंक घटेको छ भने फ्लोट इण्डेक्स पनि ३।४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।९७ अंकले घटेको छ।
आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ०।८४ अंक घटेको भएपनि नियमित कारोबार सुरु भए पश्चात बजारले सकारात्मक संचार गाराएको थियो । यद्यपी बजारको हरियाली लामो समय टिक्न सकेन र बजार ओरालो यात्रामा लाग्यो ।
आज ओराली लागेको बजारमा पनि कारोबार रकममा भने हिजोको भन्दा सामान्य सुधार आएको छ । कारोबार रकममा आएको सुधारले आइतवारदेखि बजार सकारात्मक हुन सक्ने संकेत गरेको लगानीकर्ताहरुको बुझाई रहेको छ ।
हिजो १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयरको खरिद विक्रि हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको कारोबार भएकोमा आज २३० कम्पनीको १ लाख ५ हजार ७७५ पटकको कारोबारमा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन चन्द्रागिरी हिल्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यता, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।