२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । केहि समयदेखि निरन्तर ओराली लयमा लागेको शेयर बजारमा आज साताको पहिलो दिन भने उछाल आएको छ ।
आइतवार नेप्से २.४८ प्रतिशत अर्थात ७१.४३ अंक बढेर २९४७.४२ अंकमा पुगेको छ । नेप्सेसंगै सेन्सेटिभ इन्डेक्स पनि २.४३ प्रतिशत अर्थात १३.०३ अंक बढेको छ ।
बजार बढेसंगै विहिवारको तुलनामा कारोबार रकममा सामान्य सुधार आएको छ । आज १ करोड ७१ लाख ३३३ कित्ता कारोबार हुँदा रु ९ अर्ब ४४ लाख ३५ हजार २४३ रुपैयाँको कारोवार भएको छ ।
आज म्यूच्यूअल फण्ड वाहेकका सबै उपसमुहहरु बढेका छन् । आइतवार सबैभन्दा धेरै हाइड्रो पावरको उपसमुह ६.३७ प्रतिशतले बढेको छ भने दोश्रो स्थानमा विकास बैंकको उपसमुह ५.१३ प्रतिशतले बढेको छ । यस्तै तेश्रो स्थानमा फाइनान्स कम्पनीहरुको उपसमुह बढेको छ ।
भारी अंकका साथ बढेको आजको बजारमा झण्डै एक दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय विमा कम्पनी लिमिटेड, अरुण काबेली पावर लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लगायतका १० बटा कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।
यसैगरी, भारी अंकले बढेको बजारमा पनि राष्ट्रिय हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । आज १२ बटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।