२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । १२ करोडको मार्जिनको बारेमा कुरेर बसेका लगानीकर्तालाई कुनै सम्वोधन नभएपनि अनिश्चित बन्दै गएको शेयर बजार आज साताको चौथो कारोबार पनि घटेको छ ।
साताको पहिलो दिन अर्थात आइतवारको कारोबारले लगानीकर्ताहरुलाई केहि सकारात्मक सन्देश दिएको भएपनि निरन्तर तेश्रो र चौथो दिनको कारोबारले भने लगानीकर्तालाई दिनप्रति दिन निराश बनाउदै लगेको छ ।
मंगलवारको बजारको अवस्थालाई निरन्तरता दिदै आज बुधवारको कारोबार पनि भारी अंकका साथ घटेको छ । आज नेप्से १.३७ प्रतिशत अर्थात ४०.२५ अंकले घटेर २८८९.०४ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स समेत ७.१५ अंकले घटेको छ ।
नेप्से घटेको भएपनि हिजोको तुलनामा कारोबार रकममा भने सामान्य सुधार भएको छ । हिजो कुल १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता कारोबार हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएकोमा आज भने हिजो कुल १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता कारोबार हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० रुपैयाँको कारोबार भएको छ ।
बुधवार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६७ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.०८ प्रतिशत, माउन्टेन इनर्जीको १.९७ प्रतिशत र नारायणि डेभलपमेन्ट बैंकको १.६६ प्रतिशतले बढेको छ।
यसैगरी बुधबार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ६.८८ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ५.४१ प्रतिशत, रुरु जलविद्युतको ४.८६ प्रतिशत, सिन्दु विकास बैंकको ४.४६ प्रतिशत र गुडविल फाइनान्सको ४.३१ प्रतिशतले घटेको छ।