२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौ । नेपालमा पहिलो पटक एकै छानामुनी करीब एक हजार होलसेल पसलहरु सहितको देशकै सबैभन्दा ठुलो कम्प्लेक्स संचालनमा आएको छ ।
कोरोना महामारी र भुकम्पीय जोखिमका बेला ग्राहकले बिना कुनै डर, त्रास निर्धक्कसंग आफुलाई आवश्यक विविध सामाग्रिहरु यस कम्प्लेक्सवाट खरिद गर्न सक्नेछन् ।
२०७७ सालदेखिनै व्यवसायिक रुपमा संचालनमा आएको National Business Trade Centre (NBTC Wholesale Complex) कलंकी भाटभटेनी नजिक रिङरोडसंगै रहेको छ ।
यस कम्प्लेक्समा आठ तल्ला मध्ये पाँच तल्लामा व्यापारिक पसलहरु रहेको छ, विशाल अन्डर ग्राउन्ड पार्कीङ सुविधा साथै प्रयाप्त गोदामको व्यवस्था रहेको यो भबन करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
हामी आज यसै कम्प्लेक्ससंग आधारित भएर एनविटिसी व्यापार संघका अध्यक्ष होम नाथ गिरीसंगको कुराकानी प्रस्तुत गर्न गइरहेका छौं ।
अर्थ बुलेटिनः देशकै सर्वाधिक ठुलो होलसेल कम्प्लेक्स भन्ने आधारहरु के के हुन् ?
अध्यक्षः NBTC अर्थात National Business Trade Centre जस्लाई नेपालीमा राष्ट्रिय व्यापार केन्द्र भनिन्छ । यो ५ लाख २३ हजार स्वायर फिटको क्षेत्रफलमा निर्माण भएको छ । यहाँ करिब एक हजार होलसेल पसलहरु छन् साथै दर्जनौ लिफ्ट र स्कालेटरस् तथा १०–१२ फिट चौडा सपिङ करिडोर इत्यादी भएकोले यो होलसेल कम्प्लेक्स (NBTC) ७७ जिल्लामा भएका जति पनि मल/कम्पलेक्स छन् ति भन्दा ठूलो भनिएको हो ।
फोटोः कलंकी रिङरोडवाट देखिने NBTC को प्रबेशद्वार ।
अर्थ बुलेटिनः कम्प्लेक्सको विशेषताहरु के के हुन् ?
अध्यक्षः कम्प्लेक्स भन्नासाथ हामीले के बुझ्नु पर्छ भने सुविधा, सुरक्षा, सहजता र समानता भएको स्थान हो । यस कम्पलेक्सको मुल गेट रिङ रोडसंगै जोडिएको फराकिलो बाटोमा छ । हामी ठूला ठूला कन्टेनरहरुवाट आएका सामान पल्टि नगरिकन सिधै एनविटिसीमा रहेको आफ्नो पसल वा गोदाममा झार्न सक्छौ । आवत–जावतको लागि सहजता छ । काठमाडौंका गल्ली–गल्ली र फुटपातमा भोगेको दुःख यहाँ भोग्नु पर्दैन । दुर्घटना हुँदा वा आपतकालीन स्थितिमा काठमाडौंका पुराना बजारहरुमा जुन डर भोग्नुपर्ने हुन्छ त्यो डर–त्रास यहाँ छैन । कम्प्लेक्स भित्र पनि प्रसस्त चाक्लो लवि छ । जसले गर्दा व्यापार र व्यापारी वर्गलाई एक प्रकारको सहजता र सन्तुष्टी प्राप्त हुन्छ ।
त्यस्तै, काठमाडौंका पुराना, अव्यवस्थित र ठेमलठेल बजारको तुलनामा भाडा दर, ढुवानी खर्च, गोदाम खर्च आदि जस्ता धेरै लगानीहरु यहाँ कम छन् । जसको कारण यसको प्रभाव दररेटमा देख्न सकिन्छ । भन्न खोजेको अन्तको बजार भन्दा हरेकजसो सामाग्रिहरुमा एनविटिसीमा दररेट सस्तो छ ।
फोटोः फराकिलो करिडोर ।
अर्थ बुलेटिनः यहाँ के कस्ता सामाग्रिहरु पाउन सकिन्छ ?
अध्यक्षः मानव जिवनमा आवश्यक पर्ने धेरै सामाग्रिहरु हुन्छन् त्यस मध्यका महत्वपूर्ण सामानहरु यँहा एकै छाता मुनी पाइन्छ । केही सामाग्रिहरुको नामै लिनुपर्दा रेडिमेड लत्ता–कपडा, जुत्ता–चप्पल, ब्याग, वेल्ट, पर्स, गार्मेन्ट, अन्डर गार्मेन्ट, घडी, चस्मा, मोबाइल, कस्मेटीक, कुर्ता–सुरवाल, साडी, सल, इलेक्टोनिक सामान लगायतका धेरै भेराइटीहरु यहाँ उपलब्ध छन् ।
फोटोः कम्प्लेक्सको भित्रि भाग ।
अर्थ बुलेटिनः ग्राहकलाई चाडवाड केन्द्रित कुनै विशेष योजनाहरु पनि छन् की ?
अध्यक्षः अब चाडै नै कम्प्लेक्सको औपाचरिक उद्घाटन हुदैछ । उद्घाटन पश्चात तुरुन्तै ‘ग्राण्ड सेल’, ‘फेस्टिभल डिस्काउन्ट’, उपहार कुपन/चिठ्ठा जस्ता आकर्षक योजनाहरु शुरु गर्नका लागि कम्पनी, व्यापार संघ र यहाँका व्यवसायिहरु विच छलफल भईरहेको छ । जुन चाडै नै ‘लञ्च’ हुदैछ । हामी यो बारेमा पनि तयारी अवस्थामा छौ ।
फोटोः एनविटिसी भित्र रहेको पसल ।
अर्थ बुलेटिनः यातायात सुविधा, पार्किङ र ढुवानीका लागि यहाँ के कस्ता व्यवस्था छन् ?
अध्यक्षः मैले पहिला उल्लेख पनि गरेको छु कि यस कम्पलेक्सको मुल गेट रिङरोडसगै जोडिएको छ । सवारीसाधन भवनको गेट हुँदै जाने हुँदा यहाँ आउने ग्राहकवर्गहरुलाई यातायातको कुनै समस्या छैन । यहाँ आउने ग्राहकवर्ग तथा यहाँका व्यवसायी दाजुभाई दिदी–बहिनीहरुको लागी प्रयाप्त पार्किङ हुनु धेरै हर्षको विषय हो । करिब १४/१५ रोपनी क्षेत्रफलमा फैलिएको पार्किङ सुविधा रहेको जानकारी पनि म यहाँ जोड्न चाहे, भन्सारबाट आएका सामान सजिलै गोदामसम्म आउन सक्ने र यहाँबाट बिक्री भएका सामानहरु ७७ वटै जिल्लामा सहजै पठाउनको लागी भरपर्दो ढुवानी सेवा पनि यहाँ रहेको हुँदा बेच्ने र किन्ने दुवैको लागि धैरै सजिलो छ ।
फोटोः पार्किङ क्षेत्र ।
अर्थ बुलेटिनः तपाई एनविटिसी व्यापार संघको अध्यक्ष भएकाले यहाँको व्यापार प्रबद्र्धन र व्यवसायिहरुको हक हितका लागि संघको भुमिका कस्तो छ ? संघको औपचारिक धारणा राखिदिनुस् न !
अध्यक्षः काठमाडौ उपत्यकामा वा देशका विभिन्न स्थानमा रहेका व्यापार संघको जस्तै यस व्यापार संघको पनि काम, कर्तव्य र अधिकार विधानमा लेखे बमोजिम नै हुन्छ ।
यस अघि पनि विभिन्न व्यापार संघको कार्य समितिमा रहि करिब एक दशक सेवा गरेको र त्यस दौरानमा देखेका, भोगेका र अग्रजहरुवाट सिकेका अनुभवलाई आत्म साथ गर्दै हामी अगाडी बढ्ने छौ भनी सम्पूर्ण कार्य समितिले सपथ खाएका छौ ।
छोटकारीमा भन्नुपर्दा हाल हाम्रो व्यापार संघले मूलरुपमा तिनवटा एजेन्डामा केन्द्रित भई काम गरिरहेको छ । जस्तैः पसलधनीहरुको हात–हातमा लालपूर्जा पुर्याउन पहल गर्ने तथा यहाँ रहेका यि सबै हजार पसलहरु यथासिघ्र संचालनमा ल्याउने र भाडामा दिने–लिनेका बिच कुनै विकृती आउन नदिने काममा हामि केन्द्रित छौ ।
म लगायत हाम्रो सम्पूर्ण कार्यसमिति होलसेल कम्प्लेक्सलाई देशभर प्रचार प्रसार गर्ने/गराउने, कम्पनीको चुस्त दुरुस्त व्यवस्थापनका लागि समन्वय गरिरहने, व्यापार संघ, कम्पनी र व्यावसायी बिच सुमधुर सम्वन्ध स्थापित गराउदै नियमित र दोहोरो छलफलका लागि बैठकहरु संचालन गरिरहने जस्ता समन्वयकारीको जिम्मेवारी पनि निर्वाह गरिरहेका छौ । यस्तै, स्वंयम आफ्नै पसलमा व्यवसाय गर्ने तथा भाडामा पसल लिई व्यापार गरिरहनुभएको सबै व्यवसायिहरुमा देखा पर्ने समस्या तथा अधिकारका वारेमा व्यापार संघ सम्वेदनशिल र सचेत छ ।
अर्थ बुलेटिनः यहाँका हजारौ पसलधनिहरु र शेयरधनिहरुलाई के भन्न चाहनुहुन्छ ?
अध्यक्षः यो समुदायमा आधारित भवन हो । प्रत्येक पसलधनीले आ–आफ्नो क्षत्रफल र स्थानको आधारमा लालपूर्जा पाउनु हुन्छ । सेयर होल्डरहरुले पनि आफ्नो भूमिका निभाउनु भएको छ । आफ्नो पसल कहिल्यै बन्द नराख्नुहोला, खोलि सक्नुभएकोलाई धन्यवाद दिदै, पसल नखोल्नु भएकालाई यथासिघ्र खोल्न यसै संचार माध्यम मार्फत नै अनुरोध पनि गर्दछु । जति छिटो हामि सबैले पसल संचालन गर्छौ त्यतिनै चाँडोे यो कम्प्लेक्सको विस्तार भएर जान्छ । कल्पना गर्नुस् त हजार पसलहरु खुल्दा यो होलसेल कम्प्लेक्स कस्तो देखिएला ?
अर्थ बुलेटिनः थप केह भन्न चाहानु हुन्छ ?
अध्यक्षः थप खासै भन्नु पर्ने म देख्दिन, सबै कुरा बोलेर वा लेखेर व्यक्तगर्न र बुझ्न संभव पनि हुदैन तसर्थ पाठक, श्रोता तथा दर्शक सबै वर्गलाई यस होलसेल कम्पलेक्समा एक पटक पाल्नुहोस र हामीलाई प्रोत्साहन गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । मनमा भएका कुराहरु तपाई मार्फत राख्न पाए । त्यसको लागि तपाई लगायत अर्थ बुलेटिन परिवारलाई धन्यवाद दिन चाहन्छु ।