३ दिनमा नेप्से २ सय भन्दा धेरैले घट्यो१२ करोडको सिमाले थलिएको बजार अझै उठ्न सकेन

 अर्थ बुलेटिन   १२ असोज, २०७८



काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ठुला लगानीकर्तालाई १२ करोड लोन सिमाको झटारो हानेर तर्साएपछि लगातार ओरालो लागेको शेयर बजार आज मंगलवार पनि भारी अंकका साथ घट्न पुगेको छ ।

यस साता आइतवार देखिनै निरन्तर ओरालो लागेको नेप्से परिसुचक ३ दिनको अन्तरालमा मात्रै २ सय भन्दा धेरै अंकले ओरालो लागेको छ । आइतवार ६१.२८, सोमवार ७३.०५ ले घटेको नेप्से आज मंगलवार पनि ७०.०५ अंकले घटेको छ । योसंगै यस साताको ३ दिनको कारोबारमा २०४.३८ अंकले नेप्से घटिसकेको छ ।

नेप्सेसंगै कारोबार रकममा समेत ठुलो उतारचढाब आइरहेको छ । आइतवार ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाको कारोबार भएको शेयर बजारमा सोमवार भने ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँ मा सिमित भएको थियो । 

यद्यपी, मंगलवार भने नेप्से घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा सामान्य सुधार देखिएको छ। आज २१८ कम्पनीको ७५ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बजार बढ्दा निदाउन नसक्ने राज्यको नियमक निकाय बजार घटेर लाखौ नागरिकले अरबौ क्षति व्यहोर्दा मौन बसेर गैरजिम्मेवार पन देखाएको भन्दै एक लगानीकर्ताले आक्रोस पोखे ‘आखिर राज्यले शेयर बजारवाट ठूलो मात्रामा राजस्व त संकलन गरेको नै थियो । निरन्तर घटाएर साना लगानीकर्तालाई सडकबास बनाउनका लागि ठूला लगानीकर्ता, ब्रोकर कम्पनी र राज्यका नियामक भनिएका निकाय सबै मिलेका छन् ।’

घटेको बजारमा यस दिन पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन नेपाल हाइड्रो डेभलपर्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशत घटेको छ भने गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य १० प्रतिशतकै हाराहारीमा कारोबार भएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation