२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौ । लगातारको बजार घटाइले अत्तालिएका शेयर लगानीकर्ताहरु मंगलवारको बजार बढाईले केही आशाको संचार छाएको बताउन थालेका छन् ।
कोहिले बजार अब बाउन्च व्याक भएको अनुमान गरेका छन् भने कोहिले सानालगानीकर्ता भुक्याउने ठुलाको खेल भएको आरोप लगाएका छन् । यद्यपी, कारोबार रकमलाई अध्ययन गर्ने हो भने अझै बजार बाउन्च व्याक भन्न नमिल्ले ठुला लगानीकर्ताको बुझाई रहेको छ ।
यसैविच, लगातार तीन कारोबार दिन घटेको नेप्से सूचकमा मंगलबार भने सुधार देखिएको छ। मंगलबार नेप्से सूचक साढे १ प्रतिशतभन्दा धेरैले बढ्दा कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा तल झरेको छ।
यस दिन नेप्से सूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.०४ अंकले बढेको छ।
नेप्से सूचक बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन। सोमबार ३ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम ३ अर्ब तल झरेको छ। यस दिन २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँ बराबरको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका ७ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। मल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युतको ९.९७ प्रतिशत, सिभिल लघुवित्तको ९.९४ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.८९ प्रतिशत र जनउत्थान सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।
यस दिन एनआइसी एशिया लघुवित्तको शेयरमूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। यस्तै रिलायन्स फाइनान्सको ३.३२ प्रतिशतले घटेको छ भने माउन्टेन इनर्जीको ३.३० प्रतिशत, साल्ट ट्रेडिङको २.६२ प्रतिशत र रिद्धि हाइड्रोपावरको २.१० प्रतिशतले घटेको छ।