‘अब नेप्से निरन्तर उकालो लाग्नुको विकल्प छैन’राष्ट्र बैंकको निर्देशनको सकारात्मक असर शेयर बजारमा

 अर्थ बुलेटिन   ३० कार्तिक, २०७८



काठमाडौं । तिहार सकिए निरन्तर घटिरहेको शेयर बजार यस साताको सोमवारको कारोवारमा भने दोहोरो अंकले बढेको छ । 

आइतवार केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको लागि व्याजदर सम्वन्धित निर्देशिका जारी गरेको थियो । त्यसको पहिलो र प्रत्यक्ष सकारात्मक प्रभाव शेयर बजारमा परेको विश्लेषकहरुले बताउन थालेका छन् । उनिहरु भन्छन् ‘अर्थमन्त्री र गर्भनर मौद्रिक नीतिको समिक्षा मार्फत ४–१२ लाई सकारात्मक सम्वोधन गर्न राजी हुनुभएकाले अब नेप्से निरन्तर उकालो लाग्नुको विकल्प छैन ।’

केन्द्रिय बैंकले अघिल्लो महिना सोही वर्गका सबै संस्थाहरुले प्रकाशित गरेको अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गरी प्रकाशित गर्नुपर्ने निर्देशन दिएको थियो । यस निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर धेरै नबढ्ने भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.४४ अंक बढेर २७१५.३५ विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंक बढेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२८ कम्पनीको ५९ हजार ३१६ पटकको कारोबारमा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बराबरको ८६ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

सोमबार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन बोटलर्स नेपाल (तराई), मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यसैगरी, यस दिन मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर र महालक्ष्मी विकास बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३५ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एचआईडिसीएलको २८ करोड र लम्बिनी विकास बैंकको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.६३ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २.३ प्रतिशत बढेको छ भने व्यापार, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation