२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । तिहार सकिएपछि ४ दिन लगातार घटेर लगानीकर्तालाई अत्याएको शेयर बजारले त्यस यता निरन्तर उकाली यात्रा आरम्भ गरेको छ । दिन प्रतिदिन यो यात्राको बढ्ने क्रम रफ्तारमा देखिएको छ ।
यस साता पहिलो कारोबार दिन आइतवार बजार १.३३ अंकले घटेको भएपनि सोमवार २६.४४ अंकले बढेको थियो । आइतवार आइतवार केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको लागि व्याजदर सम्वन्धित निर्देशिका जारी गरेको थियो ।
केन्द्रिय बैंकले अघिल्लो महिना सोही वर्गका सबै संस्थाहरुले प्रकाशित गरेको अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गरी प्रकाशित गर्नुपर्ने निर्देशन दिएको थियो । यस निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर धेरै नबढ्ने भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो ।
फलतः त्यसको सकारात्मक प्रभाव साताको तेश्रो दिनको कारोबार अर्थात मंगलवार पनि परेको छ । यस दिन नेप्से परिसूचक करिक ७० अंकले बढेको छ ।
यो प्रभाव नेप्से परिसूचकमा मात्रै होइन कारोबार रकममा पनि प्रत्यक्ष देख्न सकिन्छ । आइतवार ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमवार ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यो क्रम मंगलवार झनै बढेर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६.७५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से सूचक ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १४.९२ अंकले बढेको छ ।
यस दिन ६ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ७ कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । उच्च दरमा शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा नेपाल बंगलादेश बैंक, नेपाल दूरसञ्चार कम्पनी, महालक्ष्मी विकास बेंक, पञ्चकन्या माइ हाइड्रोपावर लगायतका कम्पनी रहेका छन् ।
मंगलबार विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २.३७ प्रतिशतले बढेको छ भने मिथिला लघुवित्तको १ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.९५ प्रतिशत र स्वाभिमान लघुवित्तको ०.८६ प्रतिशतले घटेको छ ।
मंगलबार पनि महालक्ष्मी विकास बेंकको सबैभन्दा धेरै ३७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको ३० करोड ४२ लाख, अपि पावरको २३ करोड ३६ लाख र लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् जसमा अन्य उपसमूह र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ५ प्रतिशत बढी बढेका छन् ।