![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर बृद्धि गर्दै दोहोरो अंकमा पुर्याएको भए पनि शेयर बजारमा त्यसको उल्टो प्रभाव पर्ने क्रम बुधवार पनि रोकिएन ।
फलतः यस साताको सोमवार देखि उकालो लाग्न आरम्भ भएको नेप्से परिसूचक आज बुधवार समेत निरन्तर उकालो नै लागेको छ । नेप्से परिसूचक मात्रै होइन कारोवार रकमले समेत उकालो यात्रालाई निरन्तरता दिइरहेको छ ।
तिहार सकिएपछि ४ दिन लगातार घटेको बजार सोमवारदेखि निरन्तर बढ्दा लगानीकर्ता उत्साहित भएका छन् ।
बुधवार नेप्से सूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ३.९४ अंकले बढेको छ ।
मंगलवारको तुलनामा आज नेप्से संगै कारोबार रकम समेत सुधार भएको छ । बुधवार कारोबार रकम करिब साढे ७ अर्ब नजिक पुगेको छ । आज १ अर्ब १९ लाख ४३ हजार ८५८ कित्ता शेयरको खरिद विक्रि हुँदा रु ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८१९.६४ रकमको कारोबार भएको छ ।
यस दिन २ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ४ वटा कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । उच्च दरमा शेयरमूल्य बढ्ने कम्पनीमा पन्चकन्या माई हाइड्रोपावर लिमिटेड र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रहेका छन् ।
यस्तै, बुधवार वोटलर्स नेपाल र महालक्ष्मी विकास बैंकको शेयर मुल्य करिब साढे सात प्रतिशतले घटेको छ ।
यस साता पहिलो कारोबार दिन आइतवार बजार १.३३ अंकले घटेको भएपनि सोमवार २६.४४ अंकले बढेको थियो । त्यस यता बजार निरन्तर बढिरहेको छ । सोमवार बजार करिब २६.४४ अंक र मंगलवार नेप्से परिसूचक ७० अंकले बढ्यो ।
यस्तै, यो प्रभाव नेप्से परिसूचकमा मात्रै होइन कारोबार रकममा पनि प्रत्यक्ष देख्न सकिन्छ । आइतवार ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमवार ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यो क्रम मंगलवार झनै बढेर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६.७५ रुपैयाँको कारोबार भएको थियो ।