हाम्रो सर्टिफिकेटको लाज छोपियोस् भिसीज्यूयहाँ ‘आचि गर्नेलाई भन्दा देख्नेलाई लाज’ भो...

 अर्थ बुलेटिन   १३ जेठ, २०७९



भिसीज्यूलाई पत्र,

देशकै एक जेठो शैक्षिक संस्था, जसले यो देशमा लाखौं कर्मठहरुलाई जन्माइसकेको छ । यहाँवाट जन्मिएका १०१ नामुद सिद्धहस्तहरुले देश र विश्वमा विभिन्न विधाहरुमा नाम कमाईसकेको छन् । 

त्यस्तो जेठो संस्थाको नेतृत्व प्रधानमन्त्रीले गर्ने गर्दछन् । उनलाई त्यस संस्थाभित्र कुलपति भन्ने गरिन्छ । अनि उनैको नेतृत्वमा उपकुलपतिमा राजनीतिक नियुक्ति हुने गर्दछ । 

न क्षमता, न दक्षता ! नेताको झोला बोकेकै आधारमा, पाटीको २/४ वटा घोषणा पत्र लेख्न सक्रियता दिएकै आधारमा, पाटीलाई २/४ करोड चन्दा दिएकै आधारमा यो पदमा वस्न मरिहत्ते गर्नेहरुको लर्को लाग्छ । 

अनि तिनै मरिहत्ते गर्नेको भिडबाट आफ्नो साठगाँठ मिलेका, पाटी पंक्ति मिलेकाले पद हत्याउन सफल हुन्छन् । यदि तिमिमा क्षमता छ, राजनीतिज्ञको झोला बोकेका आधारमा नियुक्त भएका होइनौ भने किन तिम्रो कार्यालयमा महिनौदेखि लागेको ताला खोल्ने ल्याकत राख्दैनौ त ?

तिम्रो राजनीतिक अभिष्ट पुरा गर्न किन देशका लाखौ विद्यार्थी, शिक्षकको भविश्यमा खेलवाड गरिरहेका छौ ? संस्था संचालन गर्ने तिम्रो पद्धति देखेर त यहाँ ‘आचि गर्नेलाई भन्दा देख्नेलाई लाज’ भैसक्यो ।

विषय प्रसङ हो महिनौदेखि ताल्चा झुन्डिएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भिसी) कार्यालयको । चाहे जो सुकैले लगाएको ताल्चा होस्, विषयलाई उठान गरी समाधानको उपाय खोज्ने जिम्मेवारी कुलपति र उपकुलपति दुबैको होइन र ?

संस्था नेतृत्व गर्ने क्षमता नभए मार्ग प्रशस्त गर्ने जिम्मेवारी कसको हो ? समस्यालाई व्यवस्थापन गर्नको सट्टा कार्यकक्षनै बन्दकी राखेर बाहिर बाहिर बरालिदा भलाई कस्को भएको हो ? महिनौदेखि कार्यालय बन्दगरी आफ्नो कार्यकक्ष भन्दा बाहिर बसेर गरिएको निर्णय र हस्ताक्षर कति आधिकारीक होला ? यो निकै गहन विषय बनेको छ ।

भिसीज्यू, यो ताल्चा कस्ले र किन लगाएको यो विषय गौढ भएन, यदि त्रिविले सम्वोधन गर्न सक्ने विषय भए सम्वोधन गर्ने, गर्न नसक्ने विषय भए, को तिर तेस्र्याउन पर्ने हो तेस्र्याइदिने र समझदारीका बुदाँ खोजेर कार्यालय खोली संस्थाको साँख जोगाउने जिम्मेवारी तपाइको हो । 

भलै, जुनसुकै पाटीले नियुक्त गरेको भिसी र जुनसुकै पाटीको नेतृत्व देशमा भएको भए पनि त्रिवि हामी सबैको साझा संस्था हो । त्यहाँ भित्र छिरिसकेपछि आफ्नो कार्यकाल भरि राजनीतिक भोला बाहिरै विसाउन सक्ने हिम्मत तपाईले र भोलिका भिसीलहरुले पनि राख्न सक्नुपरयो ।  

हो, माग कर्ताले मागेको सबै कुरा जायज होला वा नहोला, पुरा गर्न सकिएला वा नसकिएला तर महिनौ समाधान खोज्नै नसक्ने, समाधान खोज्न तिरनै नलाग्ने, समाधान भन्दा उल्झन बढाउन खोज्ने जिम्मेवार पदाधिकारीको शोभनिय र सक्षम कदम होइन ।

आफ्नो क्षमता देखाउने चुनौति अहिले भिसीज्यू तपाइलाई छ । अब जिम्मेवारी (नियुक्ति अवधि) को  अन्तिम अन्तिम अवस्थामा आइसक्दा केही त उदाहरणिय कार्य गरेर देखाउनुस् त्रिविमा । 

त्रिविको इतिहासमा यति लामो समय समाधान विहिन रुपमा भिसी कार्यालय बन्द रहनु आफैमा ऐतिहासिक कदम भैसक्यो । अब यस्ता नकारात्मक ऐतिहासिक कदम भन्दा पनि भिसीज्यू सकारात्मक, रचनात्म र उपलव्धिमुलक केही कदम चालेर जानुस् । जसले, समग्र त्रिवि/संस्था, शिक्षक, विद्यार्थी र कर्मचारीको हित होस् । 

झन्डै आधा बर्ष पुग्न लागिसक्यो भिसी कार्यालयमा ताला लागेको । अब कहिलेसम्म यसलाई लम्व्याउने हो ? तपाई त लाचार हुनु भो, हुनु भो अब मेरो सर्टिफिकेटलाई यो भन्दा धेरै लाचार नबनाउनुहोस् । देशको सबैभन्दा जेठो शैक्षिक संस्थालाई यो भन्दा धेरै न नग्याउनुहोस् । अब त अति भो ‘आचि गर्नेलाई भन्दा देख्नेलाई लाज भो’ ।

तपाई जतिनै सुटबुटमा ठाटिएर हिडेपनि तपाईको वरपर गन्हाउन थालिसक्यो । तपाईले वास्ना आउन छर्केको अत्तरले भिसीज्यू आचिको दुर्गन्ध फैलाउन थाल्यो । त्यसैले, अब धेरै दुर्गन्धित हुने भन्दा सुगन्धित बन्नुहोस् । 

अबको केहि घण्टा वा केहि दिनमानै तपाईको कार्यालयमा लागेको ताला बलजवस्थी होइनकी समस्या सामाधान सहित सौहार्दपूर्ण रुपमा आपसी समझदारीमा खोलिएको शुभ समाचार सुन्न पाइयोस् र हाम्रो सर्टिफिकेटको लाज छोपियोस् । 

बिनोद पौडेल



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation