२३ माघ, २०८१ | 05 Feb, 2025
रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो
रुपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो ।
सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।
झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित
झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।
कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए
नेत्रविक्रम चन्द नेतृत्वको नेकपावाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भईरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आफुले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बर्दियाको शम्भुशरणको स्थगित मतदान पुनः सुरु
बर्दियाको शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ । मतदान प्रक्रिया सुरु भए लगत्तै अज्ञात समूहले मतदान स्थल बाहिर विष्फोट गराएपछि स्थगित मतदान करिव १ घण्टापछि पुनः सुरु भएको हो ।
बर्दियाको गुलरिया नगरपालिका खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालय मतदान स्थलबाहिर सुतली बम विष्फोट भएपछि मतदान कार्य रोकिएको थियो ।
नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ
निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको भन्दै कञ्चनपुरमा प्रहरीले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुलाई आवाश्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा लिइएको हो ।
मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित
मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो ।
मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटपछि मतदादाताको भागदौड मच्चिएका थियो । भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
क्रिया बसेका चार दाजुभाईले गरे मतदान
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उनिहरुका श्रीमतीले मतदान गरेका हुन् ।
उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका छन् । उनीहरु तिन दिनदेखि आमाको मृत्यको शोकमा क्रिया बसिरहेका छन् ।
जीवनको सबैभन्दा दुखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनिहरुले आफ्नो मतले आगमी पाचँ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनिहरुको भनाई थियो ।
आफ्नो परम्पराअनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखिनै मतदान भइरहेको छ ।
धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । जिल्लामा शान्त र सामान्य रुपमा मतदान भईरहेको छ । सुरक्षा व्यवस्थापन कडा गरिएको छ ।
बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ।
जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन् ।
बैतडीकी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान
बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसालेकी हुन् ।
अब आउने नायाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् । ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकेबाट देखेकी छु, अब देशमा स्थायीत्व होस, गरिवका दिन पनि आउन भन्ने चाहेकी छु,’ उनले भनिन् । जनताको दुःख बुझ्न सक्ने नेत्तृत्व चुनियोस् भन्ने चाहेको उनले बताइन् ।
मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु
मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।