![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
पोखरा । कास्कीका विभिन्न ३ गाउँपालिकामा रहेका महिला सहकारी संस्थाहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
तालिममा जिल्लाका अन्नपुर्ण, माछापुच्छ्रे र माँदी गाउँपालिकामा दर्ता भई संचालनमा रहेका १६ वटा महिला सहकारी संस्थाहरुका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी २६ जनाको सहभागीता रहेको थियो ।
तालिमको सहजिकरण पोखरा महानगरपालिका सामाजिक विकास शाखाका अधिकृत विष्णुमाया पौडेल र भुमेश्वर बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समितिका सचिव धनञ्जय पौडेलले गर्नु भएको थियो ।
प्रशिक्षणको क्रममा सहकारी विकासमा महिलाहरुको भूमीका, सहकारीहरुको संस्थागत विकास, सञ्चालक समितिका पदाधिकारीहरुको दायित्व एंव संघिय, प्रादेशिक र स्थानीय सरकारबाट जारी सहकारी कानुनहरुको प्रावधान एवं तालुक कार्यलयमा पेश गर्नु पर्ने प्रतिबेदनहरु बारे वृहत छलफल गरिएको तालिमका आयोजक सामाजिक विकास कार्यालय, कास्कीका प्रमुख इन्द्र बहादुर थापाले बताउनुभयो ।
सामाजिक विकास कार्यालय, पोखरा, कास्कीको आयोजनामा संचालित २ दिने तालिम कार्यक्रमको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदीले उद्घाटन गर्नुभएको थियो । उहाँले कार्यक्रम शुभारम्भ गर्दै लामो समय देखि अलमलमा परेका महिला ऋण तथा बचत सहकारी संस्थाहरु क्रियाशील बन्ने अवस्था सृजना हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रमा वोल्दै सुवेदीले भन्नुभयो “मातृ शक्ति इमान्दार र लगनशिल हुने भएकाले वर्तमान परिवेशमा सहकारीहरुमा मौलाउदै गएको वेथिति निरुत्साही गर्न स्वंनियमन आवश्यक रहन्छ । यस्का लागि महिला सहकारीहरु उदारणीय बनुन् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
यस्तै, सोमवार सम्पन्न तालिमको समापन समारोहमा प्रमुख अथिति सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका उप–सचिव भोजराज न्यौपानेले गण्डकी प्रदेशले आयोजना गरेको पहिलो तालिममा सहभागि वन्ने अवसर पाएकोमा बधाई दिदै नमुना बनि कार्य गर्न शुभकामना व्यक्त गर्नुभयो । समापन कार्यक्रममा वोल्दै न्यौपानेले भन्नुभयो “आफ्नो संस्थामा पनि घरको आमाकै भूमिका निर्वाह गरी सहकारीहरुको बोनसमूखी गलत प्रबृतिलाई निरुत्साहित गरी उद्मममुखी बन्न आग्रह गर्दछु ।”